काठमाडौं /१० असार-उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को बृहत् शैक्षिक मेला आजदेखी सुरु हुँदै छ । “उत्कृष्ट शिक्षा नेपालमै” भन्ने नाराका साथ असार १० गते देखि १३ गतेसम्म भृकुटीमण्डप, प्रर्दशनीहलमा बृहत् शैक्षिक मेला संचालन हुने भएको हो ।
विगत ६ वर्षदेखि शैक्षिक मेला आयोजना गर्दै आईरहेको हिसानले यस बर्षको मेलालाई +२ मेलाको रुपमा सञ्चालन गर्ने भएको छ । नेपालमै संचालित शिक्षालयहरुले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउने र विद्यार्थी तथा अभिभावकहरुलाई नेपालमै पनि उत्कृष्ट शिक्षा पाइन्छ भन्ने बिषयमा विविध परामर्श दिने उद्देश्यले शैक्षिक मेला आयोजना गरीएको हिसानले जनाएको छ ।
साथै चार दिनसम्म चल्ने शैक्षिक मेलाले नेपालमा संचालित शिक्षालयहरुले दिने गुणस्तरीय र उत्कृष्ट शिक्षाका बारेमा उचित जानकारी एवं परामर्श नहुँदा, कुन विषय किन पढ्ने, विषयको छनोट कसरी गर्ने भन्ने कुरामा अन्यौलता हुँदा कतिपय विद्यार्थी तथा अभिभावकहरुको विदेश मोहका कारणले शिक्षा प्राप्तिकै लागि ठूलो धनराशी विदेशिएको वर्तमान समयमा यस्ता समस्याबाट मुक्त हुन मेला आयोजना गरीएको हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले बताए । उनले भने “ठुलो धनराशि विदेश जानबाट जोगाउन तथा विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रसँग सम्बन्धित ब्यक्तिहरुलाई एकै छानामुनि गुणस्तरीय शिक्षाका बारेमा विस्तृत जानकारी दिन शैक्षिक मेला आयोजना गरेका हौं ।”
प्लस २ देखि उच्च स्तरको शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई लक्षित गरी संचालित शैक्षिक मेला विद्यालय शिक्षादेखि विभिन्न विश्वविद्यालयबाट सम्वन्धन लिई विभिन्न कार्यक्रम संचालन गरेका शैक्षिक संस्थाहरु तथा प्राविधिक एवं उच्च प्राविधिक कार्यक्रम संचालन गरेका संस्थाहरुका साथै त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम केन्द्र (सि.टि.ई.भि.टि) को सम्वन्धनमा संचालित ७५ बढि शैक्षिक संस्थाको सहभागिता रहने छ ।
मेलामा विभिन्न संस्थाहरुका प्रस्तुतिका साथै विज्ञहरुको सहभागितामा शिक्षा तथा प्रविधि लगायत विविध शैक्षिक जानकारीमूलक तथा विषयगत सेमिनारहरु समेत आयोजना गरिएको छ । विद्यार्थीहरुलाई नेपाली शिक्षालय प्रति आकर्षित गर्ने तथा विविध परामर्श दिइने यस शैक्षिक मेलामा विभिन्न तहमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा शिक्षासँग सरोकार राख्नेहरु गरी २ लाख वढिले अवलोकन गर्ने लक्ष्य राखिएको हिसानले जानकारी दिएको छ ।
निशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा १ हजार भन्दा बढि विद्यार्थीको लागि पूर्ण तथा आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ । अनलाइन मार्फत लाइभ गरि उपत्यका बाहिर रहेका विद्यार्थी तथा अभिभावकहरुलाई नेपालमै पनि उत्कृष्ट शिक्षा दिइने छ भन्ने बिषयमा सन्देश प्रवाह जनाएको छ ।



