काठमाडौं/३ असार-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेलले आफ्नै पहलमा मुलुकका विश्वविद्यालय सम्बन्धी संघीय तहबाट तयार गरेको प्रतिवेदनमा उल्लेख भए अनुसार त्रिविमा ७६ प्रतिशत र १६ वटा शैक्षिक विश्वविद्यालय र प्रतिष्ठानमा २४ प्रतिशत मात्र विद्यार्थी सहभागिता छ । देशमा स्थापना भएका कुल १,४३२ कलेजहरु मध्ये त्रिविमा मात्र ७९ प्रतिशत कलेज आवद्ध छन् ।
उच्चशिक्षाको मूलभूत समस्या नयाँ नयाँ विश्वविद्यालय स्थापना तथा कलेजहरुलाई सम्बन्धन प्रदान गर्नुसित सम्बन्धित हुनाले विकृति, विसंगति मौलाएको पाइन्छ । शिक्षा प्राप्ति र गुणात्मकताका क्षेत्रमा समेत लेनदेन, बिचौलिया र कमाउ धन्दाको कारक सम्बन्ध नहुने गरेको आरोप सुनिन्छ । प्राज्ञिक विचलन तथा राजनीतिक आड, भरोशाका कारण शैक्षिक नेतृत्वमा त्रुटीपूर्ण अभ्यासले प्रोत्साहन पाएको सत्यतथ्य उद्घाटित हुने गर्दछ । यी विकृति, विसंगति र अराजकतालाई मूल जरोमा पुगी समाधानका लागि आमूल रुपान्तरणमा राजनीतिक, प्रशासनिक तथा शैक्षिक तहमा साझा प्रतिवद्धता तथा कार्यान्वयनमा लैजाने इमानदार प्रतिज्ञा नगरेसम्म देशमा कुनै पनि अर्थमा सुधार हुने छैन ।
यसै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेल जनशक्ति विकास योजना तथा समन्वय शाखाको माध्यमबाट मुलुकमा सञ्चालित सबै ११ वटा विश्वविद्यालयहरुको अवस्था संग्रहित गरेका छन् । विश्वविद्यालयहरुको आन्तरिक जनशक्ति प्रयोग क्षमता, विषय क्षेत्रगत विद्यार्थी तथा प्रशिक्षार्थी विकास र संस्थागत उत्पादन क्षमताको वस्तुनिष्ठ अध्ययन गरी नेपालका राष्ट्रिय विश्वविद्यालयहरु —२०७८ अन्तिम मस्यौदाको प्रतिवेदन पनि तयार पारेका छन् । करीब ६ महिना लगाएर गरिएको अध्ययन प्रतिवेदन सबै विश्वविद्यालयका उपकुलपतिहरुलाई संबोधन गरी शाखाका तर्फबाट पठाइएको छ ।
नेपालका राष्ट्रिय विश्वविद्यालयहरु प्रतिवेदन—२०७८ को प्रारम्भिक मस्यौदा मन्त्री, राज्यमन्त्री तथा सचिवलगायतका सबै उच्च पदस्थ पदाधिकारीहरुलाई समेत अध्ययन, समीक्षा र आवश्यकता बोध गरी मन्त्रालयको आधिकारिक सम्पत्ति बनाउन आग्रह गर्दै उपलब्ध गराइएको उपसचिवको दावी छ । यो अध्ययन सामग्री विकास गर्न २७ प्रश्नावली साथ विश्वविद्यालयबाट विवरण मागगरिएको र सबै विववरण अध्यावधिक गर्दा मन्त्रालयको आधिकारिक सम्पत्तिको संग्रहणीय दस्तावेज बनाउन सकिने प्रयत्नमा रहेका उपसचिवले आधारभूत तहको मस्यौदा पहिला नै सत्यापनका लागि विश्वविद्यालयहरुमा पठाएका थिए ।
विश्वविद्यालयहरुबाट आधारभूत तहको मस्यौदामा प्राप्त राय सुझाव तथा थप हुन आएका अन्तिम विवरणहरुलाई समायोजन गरी प्रतिवेदनका रुपमा, विधि, ढाँचामा तयार बनाएर अन्तिम रुप दिएको मस्यौदालाई प्रारम्भिक प्रतिवेदनको नामदिएर नै पुनः विश्वविद्यालयहरुमा अन्तिम अध्ययन तथा रायसुझावका लागि मस्यौदा पठाइएको उपसचिवको मेल पाइएको विश्वविद्यालयहरुको प्रतिक्रिया रहेको छ ।
यसै सन्दर्भमा नेपालका विश्वविद्यालयहरुको अवस्था अध्ययनमा के के कुरा पाइयो ? कस्ता कस्ता विषयहरु समस्याका रुपमा उजागर भएर उपस्थित देखिए ? प्रश्नअनुसार कति खुलेर कुराहरु प्राप्त हुनआए र कति कुराहरु खुलेनन् वा प्राथमिकतामा राखिएनन् ? साँच्चै उच्चशिक्षा पहुँच र विश्वविद्यालय तहको पठनपाठन, विषय क्षेत्र र मुलुकको प्राविधिक क्षेत्रको जनशक्ति विकासको अवस्थाके कस्तो रहेछ ? उच्चशिक्षाको क्षेत्रमा के के सबलता, समस्या र चुनौतीहरु रहेछन् ? उच्च शिक्षा व्यवस्थापनमा मानवीय, शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा भएका प्रयासहरु र सामना गर्न परेका चुनौती र उच्च प्राथमिकतामा हुनुपर्ने विषयहरु के के रहेछन् ? साथै, मुलुकको उच्च शिक्षाको गुणात्मकता र विषयगत जनशक्ति उत्पादनको गुणात्मकताको मार्ग विश्वसनीय तथा विश्व प्रतिस्पर्धी हुन सक्ला ? अध्ययनको उद्देश्य र लक्ष्य के थियो ? के यो प्रतिवेदनले मुलुकको उच्च शिक्षा व्यवस्थापनमा केही योगदान गर्न सक्छ ? यिनै विषयहरुमा केन्द्रित भएर मन्त्रालयका अध्येता उपसचिव ईश्वरी प्रसाद पोखरेलसंग खबरएजुकेसनका प्रतिनिधिले गरेको कुराकानीको संवाद भाग एकको संपादित अंश :
शिक्षा तथा ज्ञानको अर्थ र बुझाइ के हो भन्ने ठान्नु हुन्छ?
हिन्दू सनातन विश्वासमा, शिक्षा तथा ज्ञानको अर्थ विश्व ब्रह्माण्डको ज्ञान गंगा,विष्णु भक्तिको आस्था, महापुराणहरुको मूलआधार बाहक ग्रन्थ भागवत महापुराणमा यसरी भनिएको छ,“भिद्यन्ते हृदयग्रन्थी, छिद्यन्ते सर्वसंशयाः । क्षीयन्ते चास्यकर्माणि दृष्टएवात्मनीश्वरे ।।’ यसरी आत्मज्ञान र चेतनाको बाहकहुने र ईश्वर पहिचान गर्ने क्षमता नै शिक्षा तथा ज्ञानको अर्थ हो । तर धार्मिक ग्रन्थका शिक्षा परम्पराको विश्वासमा मात्र पेट नभरिने हुनाले हाम्रा पूर्खाहरु विस्तारै जीवनलाई चलायमान बनाउन भौतिकज्ञान, सीप र व्यावसायिकतामा रमाउन आध्यात्मिक र व्यावसायिक शिक्षामा प्रवेश गर्न बाध्य थिए । विश्वमा पछिल्लो समय क्रममा आधुनिक शिक्षा प्रणालीमा प्रवेश हुनुपूर्व हरेक महादेशमा सामाजिक दृष्टिकोणले औपचारिक शिक्षा प्रबन्ध गर्न, गराउन आआफ्नै प्रयास भएका थिए । पूर्वीय दार्शनिक क्षेत्र आर्यावर्त र भारतीय महादीपमा ऐतिहासिक कालमा ऋषिमहर्षिका तपोभूमि र आश्रमहरु नै शिक्षाको केन्द्र थिए । शिक्षा तथा ज्ञानको अर्थ जीवन सापेक्ष र प्रयोग सीपमा आधारित हुनु नै हो भन्ने लाग्दछ ।
आधुनिक शिक्षाको प्रारम्भ तथा विश्वविद्यालयको स्थापना कहाँ कसरी भएको रहेछ ?
आधुनिक शिक्षाका अनुसन्धाताहरुको दावी अनुसार संसारको पहिलो विश्वविद्यालय मोरक्कोमा स्थापना भएको थियो रे, त्यो विश्वविद्यालय स्थापनाको १,१५७ वर्षपछि दोस्रो विश्वविद्यालय संयुक्त अधिराज्य बेलायतमा खोलिएको थियो रे, त्यसको ९८० वर्षपछि तेस्रो विश्वविद्यालय संयुक्त राज्य अमेरिकामा स्थापना भएको थियो रे, अध्येताहरु अनुमान गर्दछन् । अमेरिकामा विश्वविद्यालय सञ्चालन भएको दुईसय वर्षपछि मात्र भारतीय भूमिमा आधुनिक शिक्षा प्रदान गर्ने विश्वविद्यालय स्थापना गरिएको र भारतमा विश्वविद्यालय चलेको ठिक एक सय वर्षपछि नेपालमा त्रिभुवन विश्वविद्यालय स्थापना भएको अनुसन्धाताहरु निचोड निकाल्दछन् ।
विद्यमान अवस्थामा नेपालमा के कति विश्वविद्यालय सञ्चालनमा रहेका छन् ?
नेपालमा विश्वविद्यालय वृद्धिको श्रृंखलामा २७ वर्षको त्रिवि २०१६ को एकाधिकार तोड्दै महेन्द्र संस्कृत विश्वविद्यालय २०४३ तथा ३२ वर्षको अवधिमा काठमाण्डौँ विश्वविद्यालय २०४८ र त्यसपछिका सबै कुल ५२ वर्षको अवधिभित्र देशमा ११ वटा विश्वविद्यालय तथा ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान (मानित विवि सरह) संघीयतहमा स्थापना भएका छन् । मुलुकमा बहुविश्वविद्यालय (१७वटा) मा प्रवेश छ र आधा दर्जन विश्वविद्यालयहरु विकास समिति ऐनका आधारमा गठनभई पूर्वाधारमा जुटेका छन् । त्यति नै संख्यामा प्रतिष्ठान, मेडिकल कलेज र प्रादेशिक विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुको व्यवस्था र प्रतीक्षाको लाइनमा लागेको देखिन्छ । यी विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान समेत गरी १,४३२ भन्दा बढी क्याम्पस र कलेजहरु आधुनिक प्रणालीको शिक्षा सञ्चालनमा क्रियाशील छन् ।
अध्ययनमा विश्वविद्यालयको वर्गीकरण तथा सीमा क्षेत्रका बारेमा के पाउनु भयो ?
नेपालमा स्थापित विश्वविद्यालयहरु सरकारबाट उपलब्ध हुने अनुदान प्राप्तिका आधारमा तीन धारका स्पष्ट देखिन्छन् । एक थरी सरकारबाट पूर्ण अनुदान प्राप्त, दुोस्रो खालका विश्वविद्यालयमा स्वीकृत जनशक्तिको दरवन्दी अनुसार तलब भत्ताको अनुदान प्राप्त हुने र तेस्रो किसिमका विश्वविद्यालयहरु सूत्रवद्ध अनुदान प्राप्त गर्नेमा सिमित छन् । यति धेरै बहु विश्वविद्यालयहरु स्थापना भइसक्दा पनि भौगौलिक तथा विषयगत कार्यक्षेत्रका सम्बन्धमा नेपालका विश्वविद्यालयहरु स्पष्ट छैनन् । बौद्धिक वर्ग प्राज्ञहरु समेत विश्वविद्यालयको भौगौलिक तथा विषयगत कार्यक्षेत्रका सम्बन्धमा दुई धारमा विभाजित छन् । यिनै कारणले विश्वविद्यालयहरुले अपेक्षाकृत गति तथा गुणात्मकताको आधारमा विश्वास लिन सकिरहेका छैनन् ।
पहिलो समूहका प्राज्ञहरुको मान्यता, ‘द फस्ट स्कूल अफ थट्स’ हुनाले विश्वविद्यालयको कार्यक्षेत्र, विषयक्षेत्र र पहूँच सीमा विश्वव्यापी हुन्छ र नियन्त्रण हुँदैन । तर दोस्रो समुहका मान्यता राख्नेहरु, ‘द सेकेण्ड स्कूल अफ थट्स’ ले भूगोलको सीमा र विषय क्षेत्रगत विधामा विशिष्टीकृत हुनुपर्दछ भन्ने स्वीकार्दछन् । यसरी अध्ययन विश्लेषण र वास्तविकताका आधारमा मुलुक बहुविश्वविद्यालयमा प्रवेशको अवधारणागत मान्यता दोस्रो नै सही तथ्य परक पनि हो भन्ने मलाई लाग्दछ । तर नेतृत्वकर्ता र कार्यान्वयन कर्तामा राजनीति, सरकार, मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालयहरु जतासुकै पहिलो समूहको नेतृत्व र विचार हावी हुनाले नेपालमा उच्चशिक्षा व्यवस्थापन मुख्य समस्यामा परेको हो भन्ने लाग्दछ ।
विश्वविद्यालय र सोसरहकाउच्च शैक्षिक निकाय तथा शिक्षामा पहुँचको अवस्था के छ ?
नेपालमा ११ वटाविश्वविद्यालय, ६ वटा शैक्षिक स्वास्थ्य विज्ञान प्रतिष्ठान र दर्जन हाराहारीका विश्वविद्यालय, शैक्षिक प्रतिष्ठान र प्रादेशिक विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानको नीतिगत, कानूनी र व्यवहारिक कार्यान्वयनका चरणले अझ धेरै अन्यौलता विकृति र विसंगतिको अस्वच्छ प्रतिस्पर्धाको मार्ग खुल्ने देखाएको छ ।
हाल १,४३२ कलेज क्याम्पसहरु सञ्चालित छन्, तीमध्ये १४७ वटा मात्र आङ्गिक छन् भने सामुदायिक र निजी गरी १,२८५ क्याम्पस सञ्चालनमा रहेका छन् । सामुदायिक क्याम्पसहरु घट्दा र निजी लगानीका क्याम्पसहरुको संख्याबढ्दा छन् ।
अर्कोतिर उच्च शिक्षा वितरण प्रादेशिक र भौगौलिक रुपमा सन्तुलित छैन । प्राविधिक तथा विषयगत क्षेत्रका हिसाबले न्यायिक पनि बनाउन सकिएको छैन, राजधानी केन्द्रित र शहरमुखी सुविधाहरु धेरै छन् । अझपनि गुणात्मक शिक्षादिने संस्था नपुगेर हो वा साँच्चै राज्यको जनशक्ति उत्पादनको आवश्यकतालाई संवोधन गर्न हो वा शैक्षिक बिचौलिया वादीहरुको भुँमरीमा जकडिएर हो । मुलुकमा शिक्षा मन्त्रालय आफैले अनुमतिदिएका ८६ वटा वैदेशिक विश्वविद्यालयका सम्बन्धन प्राप्त कलेजहरुमा २३ हजार हाराहारीका विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।
विषयगत क्षेत्र र जनशक्तिको उत्पादन र विकासका पक्षहरु अर्को अर्को भागमा संवाद गरिनेछ ।



