ललितपुरमा ‘दोस्रो आयाम शैक्षिक मेला’ हुने

काठमाण्डौं/१३ माघ– ललितपुरको वाग्मती–२ गाउँपालिकाको आयोजनामा माल्टा स्थित कालीदेवी माध्यमिक विद्यालयमा दोस्रो आयाम शैक्षिक मेला सुरू हुने भएको छ ।
यही माघ १७ र १८ गते विद्यालयस्तरीय विज्ञान, प्रविधि र कला प्रदर्शनी मेला हुन लागेको हो । शैक्षिक विकास तथा सुधार गर्ने उद्देश्यका साथ हरेक वर्ष मेला आयोजना गर्दै आएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताए । यस मेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत केही शिक्षकलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । गाउँपालिकाले यस मेलालाई बृहत बनाउन करिब छ लाख रकमको व्यवस्थापन गरेको लोप्चनले जानकारी दिए ।
कालीदेवीका प्रधानाध्यापक कुमार चौँलागाईंका अनुसार सो शैक्षिक मेलामा विद्यार्थीहरूले कक्षामा सिकेका विविध ज्ञान र आफूहरूले सिर्जना गरेका विषयवस्तु तथा कलाकौशललाई प्रस्तुत गर्न सकिने र अन्य विद्यालयका बालबालिकासँग सहकार्य बढाउने वातावरण सिर्जना हुने बताए । उनले भने, ‘माघ १७ गते सहभागी अन्य विद्यालयका विद्यार्थी र शिक्षक यहाँ आउने कार्यक्रम रहेको छ भने माघ १८ गते बृहत मेला तथा साँस्कृतिक कार्यक्रम हुनेछ ।’ यस गाउँपालिकामा रहेका कूल ४७ सामुदायिक विद्यालयमध्ये ६ आधारभूत र १० माध्यमिक तहका गरी जम्मा १६ विद्यालयका बालबालिकाहरूले सो मेलामा भाग लिने भएका छन् ।
६० भन्दा बढी प्रदर्शनीकक्ष रहने उक्त मेलामा कालीदेवीका ४०० विद्यार्थी र अन्य सहभागी विद्यालयका २०० विद्यार्थीलगायत शिक्षक, अभिभावक गरी करीब एक हजार मानिस उपस्थित रहने गाउँपालिकाका प्रेस सल्लाहकार दीपक घिमिरेले जानकारी दिएका छन् ।