काठमाडौं /१२ जेठ-कोभिड-१९ महामारीको समयमा नेपाल फर्किएका विद्यार्थीलाई चिनले फिर्ता गर्ने तयारी गरेकोमा परराष्ट्र सचिव भरत राज पौड्यालले धन्यवाद दिएका छन् । बुधबार चीन–नेपाल कूटनीतिक परामर्श संयन्त्रको १४ औँ बैठकमा परराष्ट्र सचिव भरत राज पौड्यालले धन्यवाद दिएका हुन् ।
महामारीको समयमा नेपाल फर्किएका विद्यार्थी अझै चीन फर्किन पाएका छैनन् । नेपाली परराष्ट्र सचिवले बैठकमा विद्यार्थीका अतिरिक्त नेपाली व्यवसायी र तिनका परिवारलाई चीन फिर्तीमा सघाउन समेत आग्रह गरे ।
वैठकमा नेपालका परराष्ट्र सचिव भरत राज पौड्याल र जनगणतन्त्र चीनका सहायक विदेश मन्त्री वु जियानघाओले आ–आफ्नो देशका प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
नेपाली प्रतिनिधिमण्डलमा नेपाल सरकारका विभिन्न मन्त्रालयका शीर्ष अधिकारीका अतिरिक्त बेइजिङ स्थित नेपाली दूतावासका चार्ज डी अफेर उपस्थित थिए । त्यस्तै चिनियाँ प्रतिनिधिमण्डलमा चीनको विदेश मन्त्रालयका उच्च पदस्थ अधिकारी र नेपालका लागि चिनियाँ राजदूत संलग्न थिए ।
त्यसबाहेक पनि दुई पक्षले व्यापार, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति र जनस्तरको सहकार्यको प्रवर्द्धन गर्न पनि सहमति जनाए ।




