नेपालको शैक्षिक विकासमा निजी विद्यालयको भूमिका !

काठमाडौं /४ बैशाख-समय परिवर्तन सँगसँगै कुनै पनि संस्था तथा संगठनको भूमिका र नेतृत्व परिवर्तन हुन जरुरी छ । समयको वेगसँंगै नयाँ सोच, विचार, आवश्यकता र परिवेश पनि बदलिँदै जाने हुन्छ । यसथर्, समाजको समग्र रुपान्तरण र सुधारको लक्ष लिएर सुरु गरिएका संघ संगठनको भूमिका पनि फेरिंदै जानु पर्ने हुन्छ । यस आलेखमा नेपालको समग्र शैक्षिक सुधार र विकासको लागि निजी स्कुलको भूमिका के हुन सक्दछ ? आजसम्म निजी स्कुलले मुलुकको शैक्षिक विकासमा के योगदान पुर्याए ? आगामी दिनको लक्ष्य के हुनु जरुरी छ ? समग्र निजी विद्यालयको छाता संगठनका रुपमा स्थापित भएका संगठनकोे कस्तो नेतृत्वदायी भूमिका आवश्यक छ भन्ने विषयमा चर्चा गरिएको छ !


प्याब्सनले गर्दै आएका कामः

औपचारिक रुपमा नेपालमा निजी शिक्षालयहरुको स्थापना भएको झन्डै तीन दशक पुगेको छ । निजी स्रोत र व्यवस्थापनबाट संचालित निजी विद्यालयको संरक्षकको रुपमा देशभरि छरिएर रहेका निजी विद्यालयलाई एउटै छाता मुनि ल्याउने उदेश्यले प्याब्सनको स्थापना भएको हो । स्थापना भएपश्चात देशभरि शैक्षिक कार्यक्रममा एकरुपता ल्याउने, संस्थागत हकहितका लागि काम गर्ने लगायतका काम गर्दै आएको छ । यस अलावा विभिन्न राष्ट्रिय आपत्विपदको समयमा सदस्य विद्यालयको सामुहिक योगदानमा प्याब्सनले आर्थिक सामाजिक दायित्व अन्तर्गत राहत वितरण, आर्थिक सहयोग समन्वय लगायतकाकार्यसमेत गर्दै आएको छ ।प्याब्सनले संस्थागत रुपमा शैक्षिक तथा सामाजिक क्षेत्रमा पुर्याएको ऊल्लेखनीय योगदानको मुक्त कण्ठले प्रशंसा नगरीरहन सकिन्न । यस गौरवशाली संगठनले आगामी दिनमा अझ उचाइ र प्रतिष्ठा हासिल गर्न थप गर्नुपर्ने कार्यबारे निम्न सुझव पेश गर्न चाहन्छु ।


प्याब्सनले गर्नु पर्ने कामः


१. शैक्षिक गुणस्तरका सवालमा :


नेपालमा निजी विद्यालयको गुणस्तरको सवाललाई लिएर आम अभिभावक सन्तुष्ट नै रहेको पाइन्छ । हरेक वर्ष राष्ट्रिय बोर्डका परीक्षामा निजी विद्यालयले ल्याएको नतिजा अत्यन्त उत्साहजनक छ । यद्यपि यसमा सुधार गर्नुपर्ने पक्ष धेरै छन् । के अंक मात्र गुणस्तर हो त भनेर धेरै प्रश्न हामीतिर तेर्सिएका छन् । राज्यले संचालन गरेका सामुदायिक विद्यालयभन्दा निजी विद्यालय धेरै अब्बल छन् भन्ने प्रमाणित त भएको छ, तर हामीभित्र पनि विद्यार्थीको समग्र गुणस्तरका पाटोमा काम गर्नुपर्ने अवस्था धेरै छ । राष्ट्रिय पाठ्यक्रम प्रारुपले परिकल्पना गरे अनुसार प्रत्येक तहको न्युनतम सिकाइ उपलब्धीलाई आधार मानेर काम गर्ने हो भने निजी विद्यालयमा शैक्षिक गुणस्तरका सवालमा काम गर्नु पर्ने देखिन्छ । यद्यपि, अधिकांश विद्यालय यस विषयमा सफल नै देखिन्छन् ।


२. शिक्षकको क्षमता विकासका सम्बन्धमा :


निजी विद्यालयको शिक्षकको तालिम र योग्यताको विषयमा धेरै शंका उपशंका व्यक्त गरिएको पाइन्छ । लाइसेन्स नभएका, तालिम र अनुभव नभएका, बाल मनोविज्ञान नबुझेका, रटाएर÷घोकाएर मात्र नतिजा राम्रो देखाएका, कम तलब र भत्तामा पेलिएर काम गरेका, विद्यार्थीलाई मनोवैज्ञानिक दवाब दिने गरेका भनेर आरोप खेपे पनि वास्तविकतामा निजी विद्यालयका कार्यरत शिक्षक जिम्मेवार छन् । जिम्मेवारीवोध र कर्तव्यपरायणताका कारण नै बढी तालिमप्राप्त र अनुभवी भएका भनिएका सामुदायिक विद्यालयका शिक्षकको भन्दा राम्रो गुणस्तर दिन निजी विद्यालयका शिक्षक सक्षम भएका छन् ।


अब सोचौं त ! कम तालिम र अनुभव हुँदा हुँदै त निजी विद्यालयका शिक्षकको कार्यक्षमता र उपलब्धि उच्च छ भने नियमित तालिम, कार्यशाला र शैक्षिक उन्नयनका कार्यक्रममा शिक्षक सहभागी हुँदा के होला ? केही विद्यालय संचालकले निजी विद्यालयका शिक्षकलाई तालिम दिनु भनेको बालुवामा पानी खन्याए जस्तो हो भनेर गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको पाइएता पनि वास्तविकतामा त्यस्तो हुँदैन । तालिम प्राप्त शिक्षकको कार्यक्षमता एक कच्चा शिक्षकको भन्दा धेरै गुणा बढी हुन्छ ।

यसका लागि प्याब्सन आफैंले नेतृत्व लिएर देशैभरिका शिक्षकको क्षमता अभिवृद्धि तालिम कार्यक्रमलाई नियमित रुपमा संचालन गर्ने व्यवस्था गरिनु जरुरी देखिएको छ ।


३. प्रिन्सिपलको नेतृत्व विकासका सम्बन्धमा :


विद्यालयको प्रिन्सिपल त्यस संस्थाको मालिक मात्र होइन । ऊ प्रशासक, सामाजिक अगुवा र सबैभन्दा बढी शैक्षिक नेता हो । विद्यालयको प्रिन्सिपल एक प्राज्ञिक व्यक्तित्व हो । विद्यालयको शिक्षा कस्तो हुनु पर्दछ ? शैक्षिक नेतृत्व कसरी लिने ? विद्यालयको शैक्षिक विकास कसरी गर्ने ? सबै विद्यार्थीको सिकाइको सुनिश्चितता कसरी गर्ने ? कमजोर सिकाइ उपलब्धी भएका विद्यार्थीलाई कसरी सहयोग गर्ने ? सिकाइका नयाँ र नवीनतम प्रयोगलाई कक्षाकोठामा कसरी भित्र्याउने ? २१ औँ शताब्दीका विश्वव्यापी प्रयोग के हुन् ? तिनलाई कसरी प्रयोग गर्ने ? शिक्षकको क्षमता विकास कसरी गर्ने ? शैक्षिक सामाग्रीको निर्माण कसरी गर्ने ? शैक्षिक सामाग्रीको प्रयोग कसरी गर्ने ? शिक्षालाई प्रविधिसँग कसरी जोड्ने ? विद्यालयलाई प्रविधिमैत्री कसरी बनाउने ?विद्यार्थीले सिकेका कुरालाई सीपमा कसरी बदल्ने ? सिकाइलाई कसरी व्यवहारिक र प्रयोगात्मक बनाउने ? शिक्षालाई अनुशासन र चरित्र निर्माणसँग कसरी जोड्ने ? विद्यार्थीको चौतर्फी विकासका लागि के के काम गर्ने ? विद्यालयमा बालमैत्री वातावरणको निर्माण कसरी गर्ने ? विद्यार्थीलाई स्वावलम्बी र आफ्नै खुट्टामा उभिन सक्ने कसरी बनाउने ? आफूले नेतृत्व गरेको विद्यालयलाई शैक्षिक विकासको नमुना विद्यालय कसरी बनाउने ? लगायतका विषयमा नेतृत्व लिनका लागि आवश्यक क्षमता विकास लालिमको आवश्यकता पर्दछ । प्याब्सनले देशभर यस्ता तालिम तथा गोष्ठी नियमित संचालन गर्नु आवश्यक देखिएको छ ।


४. शिक्षामा नवप्रवर्तन, अनुसन्धान तथा स्तरोन्नतिका सम्बन्धमा :


अब समय बदलिएको छ । पुरातन ढंगबाट चल्न खोज्नेहरु विश्वभरिबाट नै हराउन थालेका छन् । शिक्षा जहिल्यै पनि अग्रगामी हुनुपर्दछ । शिक्षा लिने र दिने सधैं अरु क्षेत्र र विषयभन्दा एक कदम अगाडि हुनुपर्दछ । यही कुरा हाम्रो शिक्षण सिकाइ र कक्षाकोठाभित्रका गतिविधिमा झल्किन सक्नुपर्दछ । यसका लागि शिक्षामा नवीनतम सोचको विकास हुनु जरुरी छ । कक्षाकोठाको सिकाइ इनोभेटिभ हुनु जरुरी छ । तर, यो कुरा कक्षाकोठामा कसरी पुर्याउने ? कसले सिकाउने ? यसको नेतृत्व कसले लिने ? सबै विद्यालयका कक्षाकोठामा त्यो नवीनतम प्रयोग र पद्धति पुगेको कुरा कसरी सुनिश्चित गर्ने ?
यसको नेतृत्व अब प्याब्सनले गर्नु पर्दछ । प्याब्सन केन्द्रीय समिति अन्तर्गत रहने गरी शैक्षिक अनुसन्धान तथा विकास शाखाको निर्माण गरी देशका विज्ञलाई आमन्त्रण गरी नियमित अनुसन्धान गर्ने, खोज गर्ने, पाइलटिङ्ग गर्ने, प्रयोग र कार्यान्वयन गर्ने, निरीक्षण र अनुगमन गर्ने जस्ता क्रियाकलाप नियमित गरिनु पर्दछ ।


५. शिक्षामा सीप, संस्कार तथा प्रविधि जोड्ने सम्बन्धमा :


निजी विद्यालयले विद्यार्थीलाई उच्च शिक्षा प्राप्त गरेपछि स्वदेशमा राख्न नसकेको आरोप लाग्ने गरेको छ । यो परिप्रेक्षमा निजी विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई देशमै स्वरोजगार कसरी बनाउने ? देशमै उत्पादन गरेर त्यसलाई विश्वव्यापीकरण कसरी गर्ने ? सिकाइलाई जीवन्त, व्यवहारिक र प्रयोगात्मक कसरी बनाउने जस्ता कुरामा प्याब्सनले नेतृत्व लिनु जरुरी छ । यो संगसंगै विद्यार्थीको आचरण निर्माण, अनुशासन र चरित्र निर्माण जस्ता कुरामा पनि उत्तिकै ध्यान दिनु आवश्यक देखिन्छ । हाम्रा सामाजिक मूल्य र मान्यता, हाम्रो रहनसहन र मौलिकता, हाम्रा धार्मिक, सांस्कृतिक धरोहर, हाम्रो माटोको सुगन्धलाई कसरी विद्यार्थीको सिकाइसंग जोड्ने भन्ने सवाल पनि उत्तिकै महत्वपूर्ण देखिन्छ ।


साथै, कक्षाकोठामा प्रविधिको प्रयोगलाई कसरी सुनिस्चित गर्ने भन्ने बारेमा पनि प्याब्सनको नेतृत्व आवश्यक देखिएको छ ।


६. प्याब्सन नमुना विद्यालय निर्माणका सवालमा :


अबको विद्यालय कस्तो हुनुपर्दछ ? कक्षाकोठा कस्ता हुनु पर्दछ ? अन्य भौतिक संरचना कस्ता हुनु पर्दछ ? शिक्षक कस्ता हुनु पर्दछ ? शिक्षण सिकाइ क्रियाकलाप कस्तो हुनुपर्दछ ? परीक्षा र मुल्यांकन पद्धति कस्तो हुनुपर्दछ ? प्याब्सनले यिनै विषय समेट्ने नमुना विद्यालयको निर्माण गर्नुपर्दछ । धेरै नसके पनि सात प्रदेशमा सातओटा नमुना विद्यालयको निर्माण गरेर नेपाल सरकार र अन्य विद्यालयलाई समेत मार्गदर्शन प्रदान गर्न सक्दछ । यी नमुना विद्यालयलाई फरक फरक ढंगबाट कृषि नमुना, शिक्षण सिकाइ नमुना, प्रविधिमैत्री नमुना, समावेशी नमुना जस्ता विभिन्न थिममा आधारित नमुना बनाएर देखाउन सके प्याब्सनलाई एक विशुद्ध प्राज्ञिक संस्थाको परिचय दिलाउन सकिन्थ्यो ।


७. नेपालका निजी विद्यालयलाई विश्वव्यापीकरण गर्ने सम्बन्धमा :
कुनै पनि राज्यमा निजी विद्यालय वैकल्पिक हुन् । आधारभूत र अपरिहार्य शिक्षामा राज्यले नै लगानी गरेको अवस्थामा निजी विद्यालयले त्यो भन्दा बढी सेवा सुविधा प्रवाह गरेर आफूलाई अन्तर्राष्ट्रिय रुपमा उभ्याउन सक्नुपर्दछ । यसका लागि शिक्षामा विश्वव्यापी चिन्तन र प्रयोग भित्र्याउनु आवश्यक रहेको छ ।
आरबी कटवाल प्याब्सन केन्द्रीय समितिका महासचिव हुन् ।