रजत जयन्तीको अवसरमा विभिन्न अभियान सञ्चालन गर्दै पोखरा विश्वविद्यालय

कास्की/२३ चैत-पोखरा विश्वविद्यालय स्थापनाको २५ औं वर्ष प्रवेशको उपलक्ष्यमा विश्वविद्यालयले रचनात्मक कार्य गरी रजतजयन्ती मनाउने भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको अध्यक्षतामा गठित रजिष्ट्रार, संकायका डीनहरू, परीक्षा नियन्त्रक लगायत अन्य पदाधिकारी, शिक्षक तथा कर्मचारीहरू सम्मिलित रजत जयन्ती मूल तयारी समितिले उक्त निर्णय गरेको हो ।


स्थानीय समाजसेवी, विश्वविद्यालयसँग सम्बद्ध एवम् विश्वविद्यालय स्थापनार्थ विभिन्न किसिमले सहयोग गर्ने व्यक्ति एवम् संस्थाहरूसमेत समावेश गरी रजत जयन्ती मनाउने निर्णय गरेको जनाएको छ । रजत जयन्तीलाई समुदायसँग हातमालो गर्दै तनाव व्यवस्थापन, योग, रक्तदान, पूर्व विद्यार्थी भेला, सरसफाई, स्वास्थ्य शिविर, स्वास्थ्य साक्षरता अभियान सञ्चालन गरी रजत जयन्तीलाई समुदायसम्म पुर्याउने लक्ष्य रहेको जनाएको छ ।


त्यसैगरी २५ वर्षसम्म गरेका कार्यहरूलाई समेटि वृत्तचित्रलाई प्रचारप्रसारमा जोड दिइने, विश्वविद्यालयको प्रोस्पेक्टस्, रजत स्मारिका प्रकाशन गर्ने, विश्वविद्यालयको झण्डा तथा राष्ट्रिय गानसमेत सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।


रजत महोत्सवमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको वतृत्व कला, फुटबल, हाजिरी जवाफ, सांस्कृति कार्यक्रमजस्ता प्रतिभा प्रस्फुटन र मनोरञ्जनका कार्य समेत सञ्चालन गर्ने भएको छ ।


साथै रजत जयन्ती सप्ताहमार्फत विश्वविद्यालय स्थापनामा विभिन्न तवरले सहयोग र योगदान गर्ने संस्था, व्यक्तित्व, पूर्व पदाधिकारीहरूको सम्मान गर्ने कार्यक्रम रहेको जनाएको छ । विश्वविद्यालयका कार्यक्रमलाई राष्ट्रव्यापी तुल्याउन राष्ट्रिय कार्यशाला गोष्ठी, सेमिनार, वार्ता, अन्तरक्रिया कार्यक्रमलाई पनि रजत जयन्ती महोत्सवमा समावेश गरिनेछ ।