नवलपरासी/१० चैत- “जब स्कुल जाने समय हुन्छ तब मेरो मानसपटलमा स्कुल ड्रेस लगाउनु पर्दाको पिडाले मलाई लज्जित पार्छ ।” सामुदायिक विद्यालयका शिक्षकहरुका लागि तोकिएको पोशाक अधिकांश पुरुष शिक्षकले शुरु देखि नै मन पराएको पोशाक होइन । तर पनि शिक्षकहरु उक्त पोशाक लगाउन बाध्य छन् ।
हाल प्रयोग गरिएको शिक्षक पोशाक कसको रोजाइ वा स्वार्थको कारणले रोजीएको हो, त्यसको अनुसन्धान आवश्यक रहेन । तर हाल मैले सामुदायिक विद्यालयको शिक्षकको हैसियतले लगाउने गरेको पोशाकमा म लागायत मेरो सम्पर्कमा रहेका शिक्षकहरुले पटक्कै नरुचाएको रङ कोड हो । साथै कपडाको उत्पादित गुणस्तरलाई पटक्कै मन पराइएको छैन । महिला शिक्षकका हकमा भने कुनै गुनासो सुनिदैन ।
सरकारले सामुदायिक विद्यालयमा सरकारी स्रोतबाट तलब खाने प्रत्येक शिक्षकलाई बार्षिक रु १० हजार पोशाक भत्ता उपलब्ध गराउदै आएको छ । तर, हालसम्म प्रयोग गरिएको पोशाक शिक्षकका लागि अभिसाप भएको छ । गर्मीमा अत्यन्तै गर्मी र जाडोमा चिसो हुने प्रकृतिका बजारमा प्राप्त रङ कोडका कपडा कुनै मौसमका लागि पनि उपयुक्त छैनन् । यसको अपजस शिक्षकका उपयोग हिन नेतृत्व कर्ता महासंघले लिनै पर्छ । पक्कै पनि आम शिक्षकहरुको चाहना बिपरित कमिशनको प्रलोभनमा परेर छानीएको हुनु पर्छ । या एकदुई जना शैक्षिक माफियाहरुले यूरोप घुमेर नक्कल गरेको हुनु पर्छ ।
सरकारले सामुदायिक विद्यालयका शिक्षकहरुको पोशाक सम्बन्धमा स्थानीय पालिकाहरुले रोज्न पाउने गरि हरेक पालिकाले आम शिक्षकहरुको रोजाइमा रहेको रङको सादा वा रंगीन पोशाक आफ्नो पालिका भित्र प्रयोग गर्न पाउने गरि निर्देशन गर्नु पर्दछ । स्थानीय पालिकाहरुले अब ढिला नगरी आगामी शैक्षिक सत्र देखि प्रयोग गर्ने गरि पोशाक थानका ड्रेस कोड सहितका उत्पादित कपडाबाट पोशाक निर्धारण गर्न बहस चलाउनु आवश्यक देखिन्छ ।
महिला शिक्षकहरुको हकमा भने उहाँहरुको चाहानालाई मध्य नजर गर्दै पुरानै या नयाँ पोशाक रोज्न दिनु उपयुक्त हुनेछ । रुपन्देही जिल्लाको कालिका मानवज्ञान नमुना मा वि लगायतका केही सामुदायीक विद्यालयहरुले आफू खुशी बिद्यालय शिक्षकको पोशाक परिवर्तन गर्दा अन्य विद्यालयले किन नगर्ने ?
पालिकाहरुले आफ्ना मातहतका शिक्षकहरुलाई एकै प्रकारका वा विद्यालय अनुसारका पोशाक निर्धारण गरि वर्तमान पोशाक प्रतिको आम शिक्षकहरुको घृणालाई समाधान गर्नै पर्छ, सम्बोधन गर्नै पर्छ ।
केही शिक्षकहरूको गलत व्यवहारका कारण हालको शिक्षक पोशाक लगाएर सार्वजनिक यातायात वा सार्वजनिक क्षेत्रमा आवतजावत गर्दा निर्दोष शिक्षकलाई समेत हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन पनि सामुदायिक विद्यालयका शिक्षकहरुको पोशाकमा परिवर्तन ल्याउन जरुरी देखिन्छ । (हुन त शिक्षक घृणाको पात्र बन्नु पोशाक कारण मात्र होइन । राजनीतिक दलको झोला बोक्नु, पोशाकमै रहेर मादक पदार्थ सेवन गर्नु वा अन्य अनैतिक कार्य गर्नु मुख्य कारण हुन् ।)
आदरर्णिय शिक्षक साथीहरुले पनि आगामी शैक्षिक सत्र २०७९ देखि नै प्रयोगमा आउने गरि सामुदायिक विद्यालयका शिक्षकहरुको पोशाक परिवर्तन गर्ने सम्बन्धमा आ आफ्ना स्थानीय पालिकाहरुमा संयुक्त निवेदन दिनु उपयुक्त हुनेछ । महिला शिक्षकहरुको समेत राय, सुझाव लिएर समयमै बहस चलाउनु उपयुक्त हुनेछ ।
कुसुम न्यौपाने
(संयोजक) स्थायी शिक्षक हकहित मञ्च नवलपरासी ,(पुर्व)



