विद्यालयले बेरुजु फछर्यौट नगरेसम्म अनुदानका कार्यक्रम सिफारिस नगर्ने

काठमाडौं /४ चैत-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाईको नाममा रहेको बेरुजु सम्परीक्षण तथा फछर्यौट गर्न सबै इकाईलाई निर्देशन दिएको छ । इकाइको नाममा बेरुजुको मात्रा ठुलो रहेको भन्दै बेरुजु सम्परीक्षण तथा फछर्यौट गर्न निर्देशन दिएको हो ।


केन्द्रले जिल्लाभित्र बेरुजु भएका विद्यालयहरुको विवरण शिक्षा विकास तथा समन्वय इकाईको वेवसाइटमा राखी सार्वजनिक गर्न र बेरुजु भएका विद्यालयलाई बेरुजु फछर्यौट नभएसम्म आगामि दिनमा केन्द्रबाट प्रदान गरिने अनुदानका कार्यक्रम सिफारिस नगर्ने निर्णय गरेको छ ।


त्यसैगरी बेरुजु भएका विद्यालयका जिम्मेवार प्रधानाध्यापकहरुलाई बेरुजु फछर्यौट नभएसम्म पुरस्कार, सेवा सुविधाका लागि सिफारिस नगर्ने केन्द्रका उपसचिव(लेखा) विनोद गोलालले जानकारी दिएका छन् ।


साविक जिल्ला शिक्षा कार्यलय मार्फत भवन निर्माण प्रयोजनार्थ विद्यालयलाई प्रदान गरिएको रकममा हालसम्म पनि निर्माण कार्य शुरु हुन नसकी खर्च भई बाँकी रहेको रकम यथाशिघ्र बेरुजु खातामा दाखिला गराउन बेरुजु भएका सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ ।