स्थानीय पाठ्यक्रम बनाउँदै बेँसीसहर नगरपालिका

लमजुङ्/२९ फागुन-लमजुङ् बेँसीसहर नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ । नगरपालिका भित्रका विद्यालयका कक्षा एकदेखि आठसम्मका विद्यार्थीलाई लक्षित गरी पाठ्यक्रम बनाउने र साहीअनुसार पठनपाठन गराउने नगरपालिकाले जनाएको छ ।


नगरपालिका प्रमुख गुमानसिंह अर्यालले केन्द्रीय पाठ्यक्रममा स्थानीय क्षेत्रको महत्वपूर्ण क्षेत्रका बारेमा जानकारी समावेश नहुने भएकाले पठनपाठनका लागि स्थानीय पाठ्यक्रम नै आवश्यक परेको बताउनु भयो ।


उहाँका अनुसार स्थानीय क्षेत्रको सामाजिक, संस्कृतिक मूल्य मान्यता, चालचलन, परम्परागत सीप, भूगोल, शिक्षा, स्वस्थ्य,पूर्वाधार, धार्मिक तथा ऐतिहासिक स्थलका बारेमा विद्यार्थीलाई जानकारी हुन आवश्यक रहेकाले पाठ्यक्रम बनाउन लागिएको हो । स्थानीय समुदायका बारेमा विस्तृतमा जानकारी पाएमा विद्यार्थीमा ज्ञान बढ्ने उहाँले बताउनु भयो । गोरखापत्रमा समाचार छ ।