सीटीइभीटीले ऐन विपरीत भर्ना खुलाएको भन्दै १५ कलेजको पीसीएल नर्सिङ भर्ना रोक्न निर्देशन

काठमाडौं/१५ मंसिर-चिकित्सा शिक्षा आयोगले सिटिइभिटीबाट सम्बन्धन प्राप्त १५ वटा कलेजमा पीसीएल नर्सिङको भर्ना रोक्न निर्देशन दिएको छ । सीटीइभीटीले चिकित्सा शिक्षा ऐन विपरीत र आयोगको निर्णयसमेतको अवज्ञा गरी भर्ना खुलाउने निर्णय गरेको भन्दै भर्ना रोक्न सीटीइभीटीलाई निर्देशन दिएको हो ।


आयोगले सोमबार सूचना प्रकाशित गर्दे सीटीइभीटीसँगै विश्वविद्यालय र प्रतिष्ठानहरुलाई समेत निर्देशन दिएको छ ।
आयोगले विश्वविद्यालय/प्रतिष्ठानहरु र विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त शिक्षण संस्थाहरुमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन बमोजिम प्रमाणपत्र तहको कार्यक्रम सञ्चालन नहुने प्रस्ट पार्दै आयोगको २०७७ साउन ३० को बैठकबाट शैक्षिक सत्र २०७७/७८ देखि उक्त तहका कार्यक्रम सञ्चालन नगर्ने निर्णय भएको जनाएको छ ।


त्यसैगरी पत्र मार्फत जानकारी गराई सकिएको अवस्थामा सिटिइभिटी परीक्षा नियन्त्रण कार्यलयको सूचनामा त्यस्ता शिक्षण संस्थामा विद्यार्थी भर्नाका लागि सिट संख्या समेत तोकि सूचना प्रकाशन भएको पाइएकोले विश्वविद्यालयहरुलाई आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त कलेजमा प्रमाणपत्र तहका कार्यक्रममा विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ ।


प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् स्तर निर्धारण शाखाको पत्रका सम्बन्धमा आयोगमा पेश भएर राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १७ बमोजिम कार्यकारी समितिबाट सिट संख्या निर्धारण बारे कुनै पनि निर्णय नभएको तर परिषद्बाट प्रमाणपत्र तह नर्सिङ विषयमा सिट निर्धारण गरी आवेदन आह्वान गरेकाले उक्त सूचना ऐन विपरीत भएको हुँदा विद्यार्थी भर्ना सम्बन्धी सूचना रद्द गर्न भनिएको छ ।


साथै चिकित्सा शिक्षा आयोगले दिएको निर्देन कार्यन्वयन नभए प्रचलित ऐन तथा नियम अनुसार कारवाही गरीने चतावनि दिएको छ ।