काठमाडौं/२६ कार्तिक-शैक्षिक परामर्श संस्थाहरुलाई संघीय सरकार अन्तर्गत राख्ने की प्रदेश सरकार अन्तर्गत राख्ने भन्ने विषय टुंगो नलाग्दा शैक्षिक परामर्श संस्था नविकरण विना सञ्चलन गर्न बाध्य भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अहिले सम्म शैक्षिक परामर्श संस्थाको नविकरण र दर्ता प्रक्रिया संघीय सरकार अन्तर्गत राख्ने की प्रदेश सरकार अन्तर्गत राख्ने भन्ने विषयमै अलमल भएका कारण नविकरण विना सञ्चलन गर्न बाध्य भएका हुन् ।
शैक्षिक परामर्श संस्थाको नविकरण र दर्ता प्रक्रियालाई २०७४ सालबाट बन्द गरीए पछि त्यसयता गैरकानूनी रुपमा सञ्चालन गर्न बाध्य भएका छन् । यस विषयमा शिक्षा मन्त्रालयले कहीले संघीय सरकार अन्तर्गत राख्नुपर्ने त कहीले प्रदेश अन्र्तगत राख्नुपर्ने बताउदै आएको छ ।
मन्त्रालय आफै अलमलिएको र प्रष्ट धारणा बनाउन नसकेपछि शैक्षिक परामर्श संस्थाहरु अन्योलमा परेका छन् । कतिपयले यसलाई मन्त्रालयले राजनितिक फाईदाका लागि प्रयोग गर्न खोजेको समेत आरोप लगाएका छन् ।
निर्देशिका अनुसार शैक्षिक परामर्श संस्था सञ्चालनका लागि प्रत्येक वर्ष नविकरण गर्नु पर्ने र नविकरणका लागि निवेदन दिनु पर्ने प्रावधान छ । तर संविधानले शैक्षिक परामर्श संस्था प्रदेश अन्तर्गत सञ्चालन हुने व्यावस्था गरे पछि त्यसलाई व्यावस्थापन गर्नका लागि समय लागेको भन्दै मन्त्रालय तर्किने गरेको छ ।
२०७५ साल भन्दा अगाडि दर्ताका लागि निवेदन दिएका शैक्षिक परामर्श संस्था तथा नवीकरणका लागि भौचर दिएकाहरुलाई के गर्ने भन्ने विषयमा पनि मन्त्रालय अलमलमै रहेको छ ।
मन्त्रालयले २०७५ साउनबाट नयाँ दर्ता स्थगित गरेपनि प्रदेश सरकारले भने नयाँ शैक्षिक परामर्श संस्था सञ्चालनका लागि अनुमति दिईरहेका छन् । वाग्मति प्रदेशलाई मात्र हेर्ने हो भने करीब दुई सय जति संस्था दर्ता गरिसकेको र अरु प्रदेशले पनि दर्ता प्रक्रिया सुरु गरिसकेका छन् ।
तर, शैक्षिक परामर्श संस्थाहरुको छाता संगठनहरु समेत यो विषयमा एक मत भएको देखिदैन । विदेश अध्ययनमा जाने विद्यार्र्थीको भिषा प्रकृया लगायतका केहिकामका लागि अनिवार्य केन्द्रमानै आउनु पर्ने बाध्यता रहेकोले संघीय सरकार अन्तर्गत राख्नुपर्ने केहि संघको भनाई छ ।
त्यसैगरी भाषा कक्षा र विदेश अध्ययनमा जाने लगायतका प्रक्रियाहरु एउटै संस्थाले गर्ने भएका कारण यसलाई एकै ठाउबाट दर्ता हुनुपर्ने र प्रदेश अन्तर्गत नै राख्नु पर्ने केहि संघको भनाइ छ ।
तर शैक्षिक परामर्श संस्था प्रदेश अन्तर्गत राख्न संविधानमा व्यावस्था भएको र अब संघ अन्तर्गत राख्नको लागि त्यसलाई संशोधन गर्नुपर्ने देखिन्छ । साथै नयाँ कानुन् बमोजिम जाने हुँदा नियमन, अनुगमन र व्यावस्थापन गर्नका लागि निर्देशिकामा समेत केही परीमार्जन गर्नुपर्ने आवश्यकता रहेको मन्त्रालयले जनाएको छ ।
अहिले सञ्चालित एक हजार चार सय ४८ शैक्षिक परामर्श संस्थाहरु नवीकरण नभएकाले अन्यौलतामा परेका छन् । सरकारले शैक्षिक परामर्श संस्था कहाँबाट नवीकरण गर्ने भन्ने नखुलाईदिएका कारण दर्ता भएका संस्थाहरु पनि गैरकानूनी देखिएका छन् ।
नियम अनुसार अहिले नियमन गर्ने हो भने शैक्षिक परामर्श संस्थाहरुलाई कारवाही गर्नुपर्ने देखिन्छ तर शिक्षा मन्त्रालयमै फाईल थन्किएका कारण मन्त्रालय मौन बसेको छ । त्यस्तै ७३५ दर्ताका लागि निवेदन दिएर सञ्चालन स्विकृत पत्रको पर्खाइमा रहेका छन् ।
शैक्षिक परामर्श संस्थाका छाता संगठनहरुले यस बारे कुनै चासो नदेखाएको मन्त्रालय स्रोतले जनाएको छ । शैक्षिक परामर्श सञ्चालकहरुको एउटा समुहले नविकरण र दर्ता प्रक्रियाका लागि मन्त्रालयलाई दबाब दिनुको साटो उल्टो नयाँ दर्ता नदिनका लागि दबाब दिएको स्रोतले बताएको छ ।
यस बारे शिक्षा मन्त्रीलाई जानकारी गराइसकिएको र वस्तृत रुपमा छलफल गर्ने तयारी गरिएको मन्त्रालय स्रोतले जनाएको छ । स्रोतले भन्यो “शैक्षिक परामर्शको अहिलेको अवस्था बारे शिक्षामन्त्रीलाई जानकारी गराई सकिएको छ । अब छिट्टै विस्तृत छलफल गर्छौ ।”



