तार पन्छाउने क्रममा करेन्ट लागेर विद्यार्थी नेताको मृत्यु

मकवानपुर/२२ कार्तिक-मकवानपुरमा एक जना विद्यार्थी नेताको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नो वडामा बाटो निर्माणका लागि बिजुलीको तार पन्छाउने क्रममा करेन्ट लागेर विद्यार्थी नेता गिरिजा अधिकारीको आज बिहान मृत्यु भएको हो ।


अधिकारीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जेसिवीको बकेटमाथि चढेर तार पन्छाउने क्रममा उनले ११ हजार भोल्टेजको तार छुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ राजदेवीका स्थायी बासिन्दा रहेका उनि नेकपा एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीका सचिव हुन । नेकपा माओवादी केन्द्रबाट विद्यार्थी राजनीतिमा लागेका अधिकारी नेकपा माओवादी केन्द्र विभाजनपछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा रहेर विद्यार्थी राजनीतिमा सक्रिय रहेका थिए ।


पछि नयाँ शक्ति र जसपाको एकीकरण भएपछि पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए । गत भदौमा एमाले विभाजनपछि भने उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सदस्य तथा हेटौंडा उपमहानगरपालिका नगर कमिटीको सचिव रहेर काम गरिरहेका थिए ।