काठमाडौं/६ भदौ-आज जनै–पूर्णिमा अर्थात जनै फेर्ने र धागो बाध्ने दिन । आज हिन्दु परम्पराअनुसार ब्राह्मण र क्षेत्री पुरुषहरूले जनै लगाउने चलन रहिआएको छ । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन पनि हो ।
आज विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरेका तागाधारीहरुले रक्षासूत्र धारण गरेर जनैपूर्णिमा चाड मनाउँदै छन् । विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू–पुरोहितद्वारा गायत्री–मन्त्रको उच्चारण गरेपछि देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।
यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
वामन अवतार विष्णुले राजा वलीलाई मन्त्र साँधिएको डोरो बाँधेर वचनवद्ध गराएर तिनै लोक लिएको कथा पनि यसमा जोडिएको छ ।यसै दिन सप्तऋषि काश्यप, अत्रि,गौतम,भारद्धाज जमदग्नी, वाशिष्ठ र विश्वमित्रलाई कुश, कालोतिल र जलले र्तपण दिईने भएकाले ऋषि तर्पणीका रुपमा पनि यो चाड मनाइँदै आएको छ ।
चाडका अघिल्लो दिन केश मुन्डन गरेर टाउकोमा गोबर र तुलसी रोपिएको माटोलाई स्नान गरेर तागाधारीहरु रहेका हुन्छन ।
आज काठमाडाँैको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाईँकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूध–कुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाँधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरूमा मेला पनि लाग्दै आएको छ ।
कतिपयले आफैँ गुरु पुरोहित कहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् । आजको दिन कज्वाइँ–ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ ।
यसै दिन दिदी–बहिनीहरूले आफ्ना दाजु–भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व बढि छ ।
‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।’
अर्थात् ‘जुन रक्षा (काँचो धागो)ले दानवहरूका महान राजा बलीलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्छु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।’
क्वाति खाने दिन
आजको दिनलाई क्वाति खाने दिन पनि भनिन्छ । पानीमा भिजाई राखिएको ९ प्रकारका गेडागुडीहरू (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाति भनिन्छ । हरियो टुसा पलाएको गेडागुडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ ।



