काठमाडौं/३ भदौ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले कक्षा १२ को विद्यार्थीलाई खोप दिएर १५ दिनको अवधि राखेर तत्काल परीक्षा संचालन माग गरेको छ ।
कक्षा १२ को परीक्षा विद्यार्थीहरुको देश–विदेशका विश्वविद्यालयमा प्रवेश पाउने र मेडिकल, ईन्जिनियरिङ्ग लगायत उच्च शिक्षामा भर्ना हुने अत्यावश्यक खुड्किलो भएकोले परीक्षा रोकिँदा लाखौं विद्यार्थीको शैक्षिक सत्र खेर जाने निश्चित भएको भन्दै परीक्षा संचालन आग्रह गरेको हो ।
बिहिबार एक विज्ञप्ती जारी गर्दै प्याब्सनले कोरोना महामारीको कारण बन्द भएकोे बजार–व्यवसाय, उद्योग–कलकारखाना, सार्वजनिक यातायात पूर्ण रुपमा खुलेको, त्रि.वि. लगायतका विश्वविद्यालयहरुको परीक्षा कार्यक्रम यथावत रहेको, लोकसेवा आयोगले लिने परीक्षाहरु सुचारु रहेको, विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीहरुका लागि खोपको समेत व्यवस्थापन भएको सन्दर्भमा कक्षा–१२ को अन्तिम परीक्षा सरकारद्वारा स्थगन गरिएको कुरा प्रति ध्यानाकर्षण गराउदै छिटै निर्णय लिन अनुरोध गरेको छ ।
शैक्षिक सत्र २०७७ मा ८–९ महिना विद्यालयहरु बन्द रहेको र शैक्षिक सत्र २०७८ मा समेत हाल सम्म विद्यालयहरु भौतिक रुपमा सञ्चालन हुन नसकेको, अनलाईन लगायतका वैकल्पिक माध्यमबाट विद्यालयहरुले निरन्तरता दिईरहेको, शिक्षण–सिकाई क्रियाकलापमा विभिन्न कारणले सबै विद्यार्थीहरुको सहभागिता सम्भव नभएको, गत बर्षको तुलनामा स्वास्थ्य संरचनाको हिसाबले र कोभिड विरुद्धको खोपको उपलब्धताको हिसाबले मुलुक सक्षम भएको हुनाले आम बाल–बालिकाहरुको शैक्षिक भविष्यलाई मध्यनजर गर्दै नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ साल कार्तिक २० गते जारी गरेको “विद्यालय पुनः सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७” द्वारा निर्देशित विधिको पूर्ण पालना गर्ने गरी महामारीको संक्रमण कम हुँदै गएको क्षेत्रहरुमा भौतिकरुपमा क्रमशः विद्यालयहरु खोल्ने निर्णय पालिका स्तरमा गर्न सक्ने वातावरण बनाईदिनहुन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय पालिका, सरोकारवाला संघ संस्था, पेशागत संगठन र नागरिक समाज समक्ष अनुरोध गर्दछौं ।,’ विज्ञप्तीमा उल्लेख छ ।



