काठमाडौं/२५ साउन-सरकारले नेपाल शिक्षक सङ्घका निवर्तमान अध्यक्ष केशव निरौलालाई भूमि आयोगको अध्यक्षमा ल्याउने तयारी गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरी सरकारले भूमि आयोग गठनको तयारी गरेको हो ।
अध्यक्ष निरौला २०६९ देखि २०७४ सम्म नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घको अध्यक्ष रहनु भएको थियो ।
स्रोतका अनुसार निरौलालाई आजै जिम्मेवारी दिने तयारी भएपनि सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि केहि दिनका लागि रोकिएको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै पक्षलाई १ भदौमा बोलाएकोले त्यसपछि सर्वोच्च अदालतको निर्णय अनुसार अगाडि बढ्ने जनाएको छ ।
सरकार परीवर्तन भएसँगै शेरबहादुर देउवा नेतृत्वको सरकारले साउन १९ गते देवी ज्ञवाली अध्यक्ष रहेको आयोग खारेज गर्ने निर्णय गरेको थियो ।



