काठमाडौं/ २४ साउन- त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका कुनै पनि परीक्षा स्थगित नहुने जानकारी दिएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका कुनै पनि परीक्षा स्थगित नहुने जानकारी दिनु भएको हो ।
जोशिका अनुसार स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार नै सकिएको छ भने विज्ञान र शिक्षा संकायका परीक्षा आइतबार सकिनेछ ।
त्यसपछि मानविकी तथा सामाजिक संकायको मात्र परीक्षा बाँकी रहने र थोरै मात्र विद्यार्थी रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर २८ गते सम्ममा परीक्षा सम्पन्न गरीने जानकारी दिनु भयो ।
साथै लामो समयसम्म परीक्षा नभएको यथार्थ अवगत गराउँदै परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो । धेरैजसोको परीक्षा सकिने क्रममा रहेको र सबै परीक्षाका विद्यार्थी गरेर करिब ३० हजार विद्यार्थी मात्र परक्षिा दिन बाँकी रहेकाले तोकिएको सबै परीक्षा सञ्चालन हुने बताउनु भयो ।


