कोरानाले विद्यालय शिक्षामा पारेको असर र समाधान बारे फेरिल्याण्डको छलफल कार्यक्रम सम्पन्न


काठमाडौं /१३ साउन- काठमाडौंको बूढानिलकण्ठस्थित बालुवाखानीमा रहेको फेरिल्याण्ड इन्टरनेसनल स्कुलले कोरोना संक्रमणका कारण शिक्षा क्षेत्रमा परेको असरबारे छलफल कार्यक्रम आयोजना गरेको छ । विद्यालयले गुरु पुर्णिमाको अवसर पारेर शिक्षक तथा सरोकारवालाहरूबीच पुनर्ताजगिकरणसहित शैक्षिक अवस्थाबारे विमर्स गरेको हो ।


धुलिखेल स्थित धुलिखेल भिलेज रिसोर्टमा आयोजित कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले कोभिड–१९ ले शिक्षा क्षेत्र खास गरी विद्यालय शिक्षामा परेको असर र समाधानका उपायबारे विचार व्यक्त गर्नुभयो । उहाँले अनलाइन कक्षालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे पनि धारणा राख्नुभएको थियो ।


त्यस्तै, विद्यालयका निर्देशक राजेन्द्र देवकोटाले आगामी दशैं तिहारसम्म विद्यालयले गर्ने शैक्षिक कार्यक्रमका बारेमा छलफल गर्दै २१औं शताब्दीका लागि कसरी विद्यालय शिक्षालाई प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे प्रस्तुती दिनुभएको थियो । साथै, समय अनुसार डिजिटल तथा वैज्ञानिक तरिकाले विद्यार्थीलाई कसरी प्रशिक्षित गर्न सकिन्छ भन्ने प्रकाश पार्नु भएको थियो ।


विद्यालय निर्देशक राम प्रसाद गौतमले बालबालिकालाई यस्तो भयावह स्थितिबाट कसरी जोगाउन सकिन्छ भन्नेबारे गम्भीर हुनुपर्ने भन्दै सम्पूर्ण शिक्षक शिक्षिकाहरूले सचेततापूर्वक आफनो कर्तव्य निर्वाह गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनु भयो । विद्यालयका निर्देशक तथा शिक्षक विनोद अधिकारीले पनि कोरोना संक्रमणबाट बालबालिकामा पर्ने जोखिम न्युनिकरण तथा अनलाइन कक्षाको प्रभावकारी सञ्चालन सम्बन्धमा आफ्ना धारणा राख्नुभएको थियो ।