अनिश्चितकालिन तालाबन्दी पछि मध्यपश्चिम विश्वविद्यालयका सबै मौका परीक्षा स्थगित

सुर्खेत/ ९ साउन- मध्यपश्चिम विश्वविद्यालयका आज बाट सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षाहरु स्थगित भएका छन् । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो ।


विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले विहिबार सूचना जारी गर्दै प्रतिकुल परिस्थिका कारण मौका परीक्षाका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ ।


विश्वविद्यालय परीक्षा व्यावस्थापन कार्यलयको पूर्व प्रकाशित सूचना अनुसार मानविकी र सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय र शिक्षाशास्त्र संकाय अन्तर्गतका स्नातक तह आठौँ सेमेष्टरको मौका परीक्षा शुक्रबारदेखि प्रारम्भ हुनुपर्नेमा विशेष प्रतिकूल परिस्थितिका कारण सञ्चालन हुन नसकेको सूचनामा उल्लेख गरिएको छ ।


साथै मौका परीक्षाका आगामी कार्यक्रम समेत स्थगित गरिएको परीक्षा व्यवस्थापन प्रमुख डा.आनन्दप्रसाद सुवेदीले जनाकारी दिनु भएको छ । विश्वविद्यलायको शुक्रबार दिउँसो १२ बजेदेखि परीक्षा सञ्चालन गर्ने तयारी थियो ।


युक्त विद्यार्थी संगठनले गत आइतबारदेखि विभिन्न १८ बुँदे माग राख्दै आन्दोलन गरिरहेको र बिहीबार देखि विद्यार्थीहरुले विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरे पछि परीक्षा स्थगित गरिएको हो । विद्यार्थीहरुका माग प्रति विश्वविद्यालयले वेवास्ता गरेको भन्दै केन्द्रीय क्याम्पस, परीक्षा व्यवस्थापन कार्यालयलगायत सम्पूर्ण संकायको क्याम्पसहरुमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ ।