काठमाडौं /१९ बैशाख – नेपाली कांग्रेस शिक्षा विभागले नेपाल सरकारले कुल बजेटको कम्तीमा २० प्रतिशत बजेट शिक्षामा छुट्टयाउन नेपाल सरकारलाई आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।
संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तह सम्मको शिक्षा निःशुल्क पाउने साथै उच्च शिक्षालाई सहज,गुणस्तरीय र पहुँचयोग्य बनाई क्रमशः निःशुल्क बनाउदै लैजाने कुरा उल्लेख गरेकाले सोको कार्यन्वयनका लागि सरकारले कुल बजेटको कम्तीमा २० प्रतिशत बजेट शिक्षामा छुट्टयाउन नेपाल सरकारलाई आग्रह गरेको हो ।
त्यसैगरी विद्यालय तहमा कार्यरत वालकक्षा शिक्षक तथा विद्यालय कर्मचारीहरुले न्युनतम पारिश्रमिकमा गुजरा गर्नु परेकोमा पारिश्रकिम कानूनबमोजिम व्यावस्था गर्नका साथै विद्यालय तहमा रहेका राहत दरवन्दी, साविक उच्च मावि,अस्थायी लगायत शिक्षकलाई वैज्ञानिक प्रकृया अपनाई एकै प्रकारको शिक्षक दरवन्दी सृर्जना गर्न प्रेस विज्ञप्ति मार्फत शिक्षा मन्त्रालय ध्यानाकर्षण गरेको छ ।
साथै त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकहरुको समस्या समाधान गर्न नेपाली कांग्रेसको नेतृत्वमा रहेको विगतको सरकारले स्वीकृत गरेको १४२० दरबन्दी कार्यन्वयनमा लगेर आंशिक प्रध्यापकहरुको समस्या पूरा गर्न विज्ञप्ति मार्फत माग राखेको छ ।




