कृषि तथा वनविज्ञान र खुला विश्वविद्यालयको योजनामा उच्च सतर्कताको आवश्यकता देखिन्छ


भाग चार
नेपाल खुला विश्वविद्यालय
काठमाडौं /१७ बैशाख – नेपालको भौगौलिक विशेषता तथा आवश्यकता अनुरुप सहज पठनपाठनको व्यवस्था गर्न, जनताको पेसागत विविधता र ज्ञानको विशिष्टताको शैक्षिक योग्यतामूलक परीक्षण गरी प्रमाणपत्र उपलब्ध गराउन, जनताको आयार्जनलाई निरन्तरता दिदैँ समयको उपलब्धतामा सिकाइको अवसर दिन, रोजगारदाताका सीपगत आवश्यकता र कामदारहरुका प्राविधिक तथा व्यावसायिक सीपको वैज्ञानिक सन्तुलन मिलाउन, उनीहरुको पेसागत दक्षता तथा प्राज्ञिक क्षमतालाई विश्वसनीय मापदण्डका आधारमा योग्यतामूलक उपाधिमा स्तर कायम गर्न यस प्रकृतिको खुला विश्वविद्यालय अति आवश्यक हुन्छ ।

सरकारले यो पक्षमा ध्यान दिएर विश्वविद्यालय सञ्चालनमा आएको छ । मानिसहरुको जिविकाका लागि रोजगारीमा रहेका सरकारी, सामुदायिक तथा निजी क्षेत्रका जनशक्तिहरुलाई पेसागत दक्षतासहित प्राज्ञिक योग्यता प्रदान गर्न विविले सहज वातावरण तथा पूर्वाधार तयार गर्न सकेको छ वा छैन ? ती नेपालका सबै दुर्गम तथा सुगमका क्षेत्रमा शैक्षिक पहुँच अभिवृद्धि गर्न वातावरण बनेको छ । विश्वविद्यालयले के के कस्ता कस्ता शैक्षिक कार्यक्रम, विधि, प्रक्रिया अवलम्बन गरेको छ ? यस सन्दर्भमा खुला विश्वविद्यालयले शैक्षिक कार्यक्रमहरु सञ्चालन र व्यवस्थापनमा पाइला चालिसकेको छ ।

लक्षित वर्ग पहिचान, बहु आयामिक विषयको पठनपाठन, सिकाइ मूल्याकंनका क्षेत्र निर्धारण, गुणात्मकताप्रति सरोकारवालाको विश्वास आर्जन सबै क्षेत्रमा के कसरी काम थालिएको छ ? आगामी १० वर्षे जनशक्ति विकास रणनीति के के छन् ? कस्ता कस्ता विषयमा जनशक्ति उत्पादन हुने आकलंन गरिएको छ ? यी सबै विषय क्षेत्रमा अध्ययन थाल्न विशेष दक्षता साथ योजना बनाउन विविको उच्च सतर्कताको आवश्यकता देखिन्छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय

नेपाल कृषि प्रधान देश भएकाले छुट्टै कृषि तथा पशुविज्ञान विश्वविद्यालयको आवश्यकता राज्यले पूरा गरेको छ । कृषि तथा पशुव्यवसाय, माछापालन, कृषिजन्य वनपैदावार बीचको सन्तुलन जस्ता क्षेत्रमा अनौपचारिक सीप भएका तथा प्राथमिक सीप भएका बहुसंख्यक जनताको हिस्सा संलग्न छ । यसर्थ :

१ : कृषि, पशुपालन तथा कृषि र पशुजन्य उद्योग वा उत्पादनमा सीपगत दक्षताको अभावले आकर्षण बढ्न सकेको छैन । तसर्थ विश्वविद्यालयले प्रादेशिक संरचना, ७७ जिल्लाहरुको भौगौलिक विशिष्टता, कृषि तथा पशु व्यवसाय, वन पैदावार क्षेत्रका उपलब्धि, समस्या, चुनौती र अवसरहरुबारे अध्ययन, विश्लेषण गरी १० वर्षे रणनीतिक योजना निर्माणमा के के काम भइरहेको छ ?

२ : नेपालका कृषिबाली, पशुपन्छी विकास, वन पैदावार सम्बन्धी कृषि तथा पशुजन्य क्षेत्रमा अध्ययन, अनुसन्धान र शैक्षिक कार्यक्रमका विगतका प्रभावकारिता तथा नतिजाहरु के कस्ता रहेका छन् ? भावी मार्ग के हुनुपर्ने नीतिगत सार्वजनिकीकरण र तदनुरुपको कार्ययोजना कार्यान्वयन विद्यमान आवश्यकता देखिन्छन् ।

३ : दक्ष, प्रतिस्पर्धी राष्द्र निर्माणमा आवश्यक कृषि, पशु, मत्स्यविज्ञ, वनविज्ञ, वातावरण विज्ञहरुको देशव्यापी पहुँच र किसानहरुसंग सहकार्य, समन्वय र सहजीकरण सम्बन्धी विश्वविद्यालयका रणनीतिक योजनाहरु के के छन् ? विद्यार्थीहरुको किसानसंग आत्मीय सम्बन्ध विकास गर्न के के कार्यक्रम, अभियान तथा नीतिहरु निर्माण भएका छन् ?

४ : स्थापनाको एक दशक अवधिमा विश्वविद्यालयले मुलुकका किसान वर्ग, पशुपन्छी व्यवसाय तथा कृषिजन्य तथा पशु उत्पादन जन्य क्षेत्रमा वन पैदावारको भूमिका तथा संवेदनशीलता के के हुन्छन् ? देशका जनता, स्थानीय तह, प्रदेशस्तरमा सेवा प्रवाह, अनुसन्धान र उत्पादनमूलक कार्यमा के के नतिजा हासिल भए ? पहुँच विस्तार तथा प्राविधिक सीप क्षमता अभिवृद्धिमा के के प्रयासहरु भए ? सबै सार्वजनिक गरी प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ आम जनसमूह तथा विद्यार्थीहरुको ध्यानाकर्षण आवश्यक देखिन्छ ।

यी विषयहरुमाथि बृहद समीक्षा गरी परिमार्जित योजना बनाउने तथा मुलुकलाई आवश्यक कृषिविज्ञ, पशुविज्ञ, मत्स्यविज्ञ, वन, वन पैदावार तथा विविध प्रकृतिका वनस्पति, जडीबुटी र पशु आहार खाद्य तथा घाँस उत्पादन विज्ञ जस्ता जनशक्ति विकास, तयारी, उत्पादन र प्रयोगसित सम्बन्धित भएकोले मन्त्रालयलाई आवश्यक परी चासो राखिएको छ ।
यो लेख पाँच भागमा विभक्त छ । अरु लेख आगामि दिनमा क्रमशः आउनेछन् ।