शिक्षकको सरुवा नसच्याए आन्दोलनमा उत्रने शिक्षकका पेशागत संस्थाहरुको चेतावनी

सिरहा/१३ वैशाख– शिक्षकको सरुवा कानून विपरीत गरेको भन्दै शिक्षकका पेशागत संस्थाहरुले सिरहाको लहान नगरपालिकाप्रति असन्तुष्टि जनाएका छन् ।


नेपाल राष्ट्रिय शिक्षक संगठन पालिका स्तरीय समिति लहानले नगरपालिकाले शिक्षा ऐन, २०२८ तथा नियमावली विपरीत सरुवा गरेको आक्रोश पोख्दै आईतबार जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएका छन् ।


राजनीतिको आडमा शिक्षकलाई प्रतिशोधको दृष्टिकोणले सरुवा गरी हतोत्साहित गर्न खोजेको भन्दै शिक्षकहरुले प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।


सिरहा जिल्ला प्रशासन कार्यालयले शिक्षकको ज्ञापन पत्र बुझ्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्न कारवाही प्रकृया अगाडी बढाएको छ । शिक्षक सरुवामा सत्य तथ्यको जानकारी सहितको प्रतिवेदन पेश गर्न शिक्षा विकास तथा समन्वय ईकाइलाई परिपत्र समेत गरेको छ ।


सो नगरपालिकाले पहिलो चरणमा १३, दोस्रो चरणमा ७०, तेस्रो चरणमा ५ जना राहत शिक्षक, चौथो चरणमा २७ जना र पाँचौं चरणमा १७ जना गरी १ सय ३२ जना शिक्षकको सरुवा शिक्षा ऐन विपरीत भएको हो वा होईन भन्ने कुराको अनुसन्धान गरी प्रतिवेदन पेश गर्न परिपत्र गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।


साथै, कानून विपरीत शिक्षक सरुवा नसच्याए आफूहरु आन्दोलनमा उत्रने शिक्षकका हकहितमा क्रियाशील विभिन्न संघसंस्थाहरुले चेतावनी समेत दिएका छन् ।