शैक्षिक भ्रमण गएका ७ जना शिक्षकलाई कोरोना लागेपछि विद्यालय बन्द

रूपन्देही/३० चैत– बुटवलको कालिका मानवज्ञान माविका शिक्षकहरूलाई  कोरोना संक्रमण देखिएपछि बैशाख २ गते सम्मका लागि विद्यालय बन्द गरेको छ ।

गत साता टनकपुर तथा भारतका विभिन्न स्थानमा शैक्षिक भ्रमणको लागि गएका विद्यालयका शिक्षकहरूमा कोरोना संक्रमण देखिएपछि विद्यालयको पठनपाठन बन्द गरिएको हो ।

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य तथा शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले विद्यालयका ७ जना शिक्षकहरूलाई  कोरोना संक्रमण देखिएपछि गत शुक्रबारदेखि विद्यालय बन्द गरिएको जानकारी दिए ।

सो विद्यालयका प्रधानाध्यापकसहित करिब १ सय जना शिक्षकहरू शैक्षिक भ्रमणको लागि गएकोमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अरू सबै शिक्षकहरू होम–आइसोलेसनमा छन् ।

चैत महिना लागेसँगै रूपन्देही लगायतका क्षेत्रमा कोरोना संक्रमितहरूको संख्या बढ्दै जान थालेको छ । सोमबारमात्रै बुटवल कोरोना विशेष आइसोलेसन अस्पतालमा भर्ना भएका ३ जना संक्रमितको मृत्यु भएको छ भने जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा मृत्यु हुने संक्रमितको संख्या १ सय ५७ पुगेको छ ।