स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

उदयपुर /२२ चैत- उदयपुरको चौदण्डी गढी नगरपालिका–१० इक्राहामा स्कुल बसको ठक्करबाट एक जना स्थानीयको मृत्यु भएको छ । आज बिहान १० बजे उदयपुरको त्रियुगा पब्लिक बोर्डिङ स्कुलको स्कुल बसको ठक्करबाट ६२ वर्षीय जगनारायण श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरको त्रियुगा पब्लिक बोर्डिङ स्कुलको स्कुल बस को १ ख २७४८ नंको बसले इक्राहास्थित मदन भण्डारी मार्ग खण्डमा बाटो काट्दै गरेको श्रेष्ठलाई ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको उदयपुर प्रहरीले बताएको छ ।

बसचालक चौनपा–१० इक्राहाका ३८ वर्षीय रत्नबहादुर कार्कीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान शुरु गरेको छ भने श्रेष्ठको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखेको उदयपुरका प्रहरीप्रमुख भीमप्रसाद दाहालले बताउनुभयो । रासस