काठमाण्डौं/१९ चैत- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौंमा रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो समय भर्ना हुने अधिकांश बिरामी शिक्षक रहेको जनाएको छ ।
मन्त्रालयले स्वास्थ्य सावधानीका न्युनतम शर्त पूरा गर्न शैक्षिक संस्थालाई आग्रह गर्दै छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या उच्च दरमा बढ्दै गएकाले सीमामा विशेष स्वास्थ्य सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो समय शैक्षिक संस्था कोरोना संक्रमणको हटस्पट बन्दै गएको टेकु अस्पतालमा उपचारका लागि भर्ना भएका अधिकांश कलेजमा पढाउने शिक्षक र होटलमा काम गर्ने कर्मचारी रहेको जानकारी दिए ।
कतिपय शैक्षिक संस्थाहरुमा स्वास्थ्यको मापदण्ड पालना नगरेको, मास्कको उचित प्रयोग नभएको, भौतिक दुरी कायम नभएको, पानी र साबुनको व्यवस्था नगरिएको पाइएको पनि उनले बताए । मूलुकमा कोरोना संक्रमितको संख्या फेरी बढ्न थालेको भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।
जनस्वास्थ्यका न्युनतम मापदण्ड नअपनाए कोरोना भाइरस संक्रमणको जोखिम फेरि पनि बढ्न सक्ने भन्दै प्रवक्ता गौतमले मास्कको उचित प्रयोग, भौतिक दुरी कायम र अनावश्यक भीडभाडमा नजान सबैलाई सुझाव दिएका छन् ।
यस्तै, काठमाण्डौं उपत्यका लगायत मूलुकका अभिकांश क्षेत्रमा वायु प्रदुषणको मात्रा बढेको र वायु प्रदुषणले आँखा, मुटु, स्वासप्रश्वास, फोक्सो लगायतमा समस्या उत्पन्न हुने भएकाले सावधानी अपनाउन र अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन मन्त्रालयले आग्रह समेत गरेको छ ।



