काठमाण्डौं/१८ चैत- काठमाण्डौं महानगरपालिका शिक्षा विभागले काठमाण्डौं महानगरपालिकामा सञ्चालित सम्पूर्ण निजी तथा संस्थागत विद्यालयलहरुलाई शैक्षिक सत्र २०७८ मा लिने शुल्कको विवरण आगामी वैशाख १५ गते भित्र महानगरको शिक्षा विभागमा पेश गर्न निर्देशन दिएको छ ।
महानगरले जारी गरेको सूचनामा हरेक विद्यालयले निर्देशिकाले तोकेको शर्त र बन्देज पालना गर्ने गरी समयसीमा भित्र रहेर प्रस्ताव पेश गर्न निर्देशन दिएको हो ।
महानगरले निर्देशिका अनुसार शुल्क निर्धारण गरी समय सीमा भित्र सम्पूर्ण विवरण बुझाउन सबै विद्यालयलाई सूचित गरेको छ । साथै, विद्यालयले शुल्क निर्धारण गर्दा विद्यालय व्यवस्थापन समितिले वार्षिक कार्यक्रम बनाई संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२, ले निर्धारण गरेको मापदण्ड अनुरुप पेश गर्नुपर्ने जनाएको छ ।
निर्देशिकाले प्रत्येक विद्यालयले वार्षिक कार्यक्रम तथा बजेटमा नै शुल्क निर्धारणको आधार तयार गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । सो निर्देशिकाले विद्यार्थीबाट लिएको शुल्कले शिक्षक कर्मचारीको तलब, छात्रवृत्ति, घरभाडा बैंक कर्जा, लगानी प्रतिफलको आंकलन गरेर शुल्क निर्धारण गर्नु पर्ने व्यवस्था गरेको छ ।
महानगरभित्र अहिले ६ सय ४५ निजी विद्यालय सञ्चालनमा रहेका छन् । हरेक विद्यालयले मनमौजी तरिकाले शुल्क लिने गरेकाले यसलाई नियमन गर्न निर्देशिकाले व्यवस्था गरेको मापदण्ड अनुसार शुल्क निर्धारण गर्न निर्देशन दिइएको महानगर शिक्षा विभागले जनाएको छ ।



