भूकम्पपछि सयभन्दा बढी सामुदायिक विद्यालय भवन पुनर्निर्माण

खोटाङ/१८ चैत- खोटाङमा २०७२ सालको भूकम्पबाट जीर्ण भएका सयभन्दा बढी सामुदायिक विद्यालय भवनको पुनर्निर्माण गरेको छ ।

भूकम्पपछि क्षति पुगेका १६१ वटा सामुदायिक विद्यालय भवनमध्ये विभिन्न आर्थिक वर्षमा अपाङ्गमैत्री र महिलामैत्री विद्यालय भवनहरूको निर्माण सम्पन्न गरिएको हो ।

भूकम्पपछि अस्थायी रूपमा स्थापना भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) शाखाले ९२ वटा र गैरसरकारी संस्थाले १४ वटा गरी हालसम्म १०६ वटा भवन निर्माण सम्पन्न भएको एकाइ प्रमुख बाबुराम पोखरेलले जानकारी दिए । आगामी असार मसान्तभित्र निर्माण गर्न बाँकी भवनहरुको सम्पूर्ण काम सम्पन्न हुने एकाइ प्रमुख पोखरेलले जानकारी दिए । अहिले जिल्ला कार्यान्वयन एकाइले ६४ वटा भवन निर्माण सम्पन्न गर्न बाँकी छ ।

उनका अनुसार राष्ट्रिय पुनःनिर्माणको कार्य योजना अनुरुप निर्माण भइसकेका भवनहरूमा दुई कोठे ४६ वटा, तीन कोठे १६ वटा र चार कोठे ३० वटा विद्यालय भवन निर्माण भएका छन् ।
गैरसरकारी संस्थाले ऐँसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिकामा १४ वटा भवन निर्माण गरेको जनाइएको छ ।

एकाइले चारकोठे भवन निर्माणका लागि ७० लाख ४० हजार, तीनकोठे भवनका लागि ३५ लाख ८० हजार, दुई कोठे भवन निर्माणका लागि २३ लाख ९० हजार बजेट विद्यालय व्यवस्थापन समितिलाई उपलब्ध गराएको छ ।
पुनःनिर्माणतर्फ मात्रै एकाइले ३२ वटा विद्यालयमा अपाङ्गमैत्री र महिलामैत्री शौचालय समेत निर्माण गरेको छ ।