मरेको चित्तल राखेर विद्यार्थी द्धारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

हेटौंडा /१६ चैत – आइतबार हेटौंडा स्थित बनविज्ञान अध्ययन संस्थानको जंगलभित्र संरक्षित एक पोथी चित्तल मृत अबस्थामा फेला परेको पछि बनविज्ञान अध्ययन संस्थानमा अध्ययनरत् विद्यार्थी आक्रोशित भएका छन् । बनविज्ञान अध्ययन संस्थानको जंगलभित्र संरक्षित क्षेत्रमा लगातार धेरै चित्तल मृत अबस्थामा भेटिए पछि विद्यार्थी आक्रोशित भएका हुन् ।

आइतबार एउटा चित्तल मृत अवस्थामा फेला परेसँगै यो साता तीन वटा चित्तल मृत अवस्थामा फेला परिसकेका छन् । यस्ता घटना बारम्बार देखिन थालेपछि बनविज्ञान अध्ययन संस्थानमा अध्ययनरत् विद्यार्थी आक्रोशित हुँदै उनीहरुले बन्यजन्तु संरक्षणको माग गर्दै पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध गरे ।

क्याम्पसभित्रका बन्यजन्तु संरक्षणमा सरोकारवालाले चासो नदेखाएको भन्दै क्याम्पसमा अध्ययनरत् विद्यार्थीले राजमार्ग अवरुद्ध गरेका हुन् । मृत चित्तल सडकमा राखेर क्याम्पस प्रशासनविरुद्ध विद्यार्थीले प्रदर्शन गरेका थिए ।

क्याम्पसको जंगलमा रहेका बन्यजन्तुको संरक्षणको माग गर्दै बारम्बार क्याम्पस प्रशासन, जिल्ला प्रशासन कार्यालय मकवानपुर र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदासमेत प्रशासन मौन बसेकाले विरोधमा उत्रिन बाध्य भएको विद्यार्थीको भनाइ छ ।

उनीहरुले क्याम्पसपरिसरको खुला क्षेत्र बन्द गरिनुपर्ने, सडक क्षेत्रको भूभाग कटाएर क्याम्पसपरिसरमा पर्खाल लगाउनुपर्ने, बन्यजन्तु संरक्षणको उचित व्यबस्था हुनुपर्ने, क्याम्पसका कर्मचारीले पालेका कुकुरलाई छाडा छाड्न बन्द गर्नुपर्ने लगायत माग राखेका छन् । उक्त क्षेत्रमा अब करिब ९० को हाराहारीमा चित्तल छन् ।