सद्भावको पर्व होली


काठमाडौ/ १५ चैत – सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने चाड फागु वा होली वसन्त ऋतुको आगमनसँगै मनाईन्छ । फागु, होली, फागु पूर्णिमा यो पर्वलाई धेरै नामले चिनिए पनि होलीलाई सद्भावको पर्वका रुपमा पनि हेरीन्छ ।

रङको वा रंगीन पर्व भनेर चिनिने होली हिन्दुहरूको लागि मात्र नभएर सामाजिक सद्भाव बढाउन हरेक धर्म, जात, तहमा महत्ववपूर्ण स्थान ओगट्दै छ । सबै रीस राग विर्सेर सबै संग मिलेर यो पर्व मनाईन्छ ।

काठमाडौंको बसन्तपुरमा विधिपूर्वक चीर ठड्याएपछि होली पर्व औपचारिक शुरुवात हुन्छ । फागुन शुक्ल अष्टमीका दिन बसन्तवपुरमा ध्वजासहित लिङ्गो गाड्दै फागु पर्वलाई स्वागत गरिन्छ ।

यो पर्वको आरम्भ कसरी भयो भन्ने कुरामा विभिन्न मत उल्लेख रहेको पाइन्छ । त्रेतायुगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ । दत्यराज हिरण्यकशिपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएको दिनका रुपमा ‘होली–पर्व’ सुरु भएको किमदन्ति छ ।

भगवान बिष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि भगवानभक्त प्रह्लादका घटना क्रमसँग जोडिएको पाइन्छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ । भगवान श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछि गोपाल बासीहरुले जयजयकार गर्दै आजको दिनको रङ्गीन उत्सव मनाएको कथा पनि धार्मिक ग्रन्थहरुमा पढ्न पाइन्छ ।

आजको दिन नेपालमा सार्वजनिक बिदा दिइने गरीन्छ । पाहाडमा आजै अर्थात् फागुन पूर्णिमाकै दिन होलि मनाइन्छ भने तराईमा फागुन पूर्णिमाको भोलिपल्ट होलि मनाइन्छ ।

यो पर्वमा मालपुवाको विशेष महत्व रहन्छ भने तराईतिर तरुवा, भरुवाको विशेष महत्व हुन्छ । सरसुको दानालाई पिसेर मरमसला मिसाएर भान्टाभित्र राखी तारिएको भरुवाको आज विशेष महत्व हुन्छ । त्यसै गरी भाँङको घोटा अर्थात् गाँउतिर पाइने भाँङको दानाको धुलो बनाई दूध अनि चिनीको मिश्रणमा हालेर बनाइएको घोटा खाँदै अनि खुवाँउदै उल्लासका साथ यो पर्व मनाइन्छ ।