करिब ८० जना विद्यार्थी संक्रमित भएपछि परीक्षा स्थगित

काठमाण्डौं/१२ चैत– विद्यार्थीमा कोभिड–१९ को संक्रमण देखिएपछि लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा परीक्षा स्थगित गरेको छ ।
चार दिनको अवधिमा ७४ विद्यार्थीमा कोरोना देखिएपछि सो क्याम्पसको स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको पहिलो चरणको परीक्षा रोकिएको हो ।
सहायक क्याम्पस प्रमुख सुनील दाहालका अनुसार गत मंगलबार शंका लागेपछि एक विद्यार्थीले पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनको सम्पर्कमा आएका १९ जनाको परीक्षण गर्दा बुधबार ७ जनामा पोजिटिभ देखिएको थियो । शुक्रबार १ सय १८ विद्यार्थीको परीक्षणमा ३२ जना थपिए ।
शनिबार एकैसाथ ६ सय ३५ विद्यार्थीको स्वाब संकलन गर्दा सोमबार ३४ जनामा कोरोना देखियो । तत् पश्चात् क्याम्पसले आन्तरिक स्रोतबाट आइसोलेसनलगायत व्यवस्थापनमा खटेको दाहालले बताए ।
संक्रमित विद्यार्थीमध्ये ५० जना अहिले क्याम्पसभित्रकै आइसोलेसनमा राखिएको छ । उनीहरूलाई क्याम्पसले खानेबस्नेदेखि अन्य व्यवस्थापन गरेको छ । बाँकी भने होम आइसोलेसनमा रहेकोे क्याम्पसले जनाएको छ ।
क्याम्पसमा अहिले १ हजार सात सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । स्नातकोत्तर तहको पढाइ भने अनलाइनमार्फत भइरहेको छ ।