प्रधानाध्यापकको कुटपिटबाट विद्यार्थी घाइते

अछाम/१२ चैत– अछामस्थित एक स्कूलमा प्रधानाध्यापकको कुटपिटबाट एक विद्यार्थी सख्त घाइते भएका छन् ।
साँफेबगर नगरपालिका–११ देविस्थानको हंस बाहिनी माविका प्रधानाध्यापक हंसराज खड्काले कक्षा १० मा अध्ययनरत विद्यार्थी युवराज खड्कालाई गृहकार्य नगरेको भन्दै कुटपिट गरेका हुन् ।
गणित विषयको गृहकार्य नगरेको भन्दै प्र.अ खड्काले युवराजलाई कुटपिट गरेको पिडितले बताएका छन् । उनले भने, “सरले सुत्र कण्ठ गरी होमवर्क गर्नु दिनुभएको थियो । मलाई आएन अनि मैले गृहकार्य गरिन भनेपछि सरले गालामा दुई पटक हान्नुभयो त्यसपछि पनि कान फुट्ने गरी हान्नुभयो । त्यति मात्र नभएर साथीलाई लठ्ठी लिन पठाएपछि म कक्षाबाट डराएर दौडिएर भागेको थिएँ ।” अहिले टाउको र कान दुखेकोले विद्यालय जान नसकेको उनले दुखेसो व्यक्त गरे ।
प्र.अ खड्काले गृहकार्य नगरेपछि कुटपिट गरेको स्वीकार गरेका छन् । उनका अनुसार विद्यार्थी खराब थियो । दिएको गृहकार्य नगरेकाले दुई झापड हानेको हो । पछि अभिभावक र विद्यार्थीको दबाबका राजीनामा दिएको तर राजिनामा स्वीकृत नभएको पनि उनले बताए ।
यस भन्दा पहिले पनि अन्य प्रअले विद्यार्थीमाथि कुटपिट गर्ने गरेको तर बाहिर नआएको विद्यार्थी तथा स्थानीयहरुले गुनासो पोखेका छन् ।