धादिङ/३ चैत्र– धादिङ बेंसीमा रहेको नीलकण्ठ माध्यमिक विद्यालयको प्रशासन शाखामा शुल्क फिर्ता र निःशुल्क शिक्षा व्यवस्थाको माग गर्दै दलित विद्यार्थीले अनिश्चित कालीन तालाबन्दी गरिदिएका छन् ।
विपन्न गरीब तथा दलित विद्यार्थीसँग विद्यालयले असुलेको शुल्क फिर्ता गर्न माग गर्दै प्रशासन शाखामा तालाबन्दी गरिएको हो ।
विद्यार्थीहरुले स्थानीय सरकारद्वारा विद्यालयमा उपलब्ध गराएको शैक्षिक कार्यक्रम सार्वजनिक गर्न, असंवैधानिक रुपले शुल्क असुल्ने शिक्षकलाई कारवाही गर्न, विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था कार्यान्वयन गर्न माग गरेका छन् भने संविधानमा उल्लेख भएका अधिकारबाट विद्यार्थीलाई वञ्चित नगराउन विद्यालय प्रशासनलाई आग्रह समेत गरेका छन् ।
विद्यार्थीहरुले आफूहरुले राखेको माग सम्बोधन नभएसम्म ताला नखोलिने बताएका छन् ।



