एक सातादेखि शिक्षकको शव अस्पतालमै

डोटी/२८ फागुन– जोरायल गाउँपालिका–२, डोटीस्थित बुडर बजारमा रहेको जोगबुढा सडकमा मृतावस्थामा फेला परेका शिक्षक डम्बर भट्टराईको शव एक सातादेखि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल मैं रहेको छ ।
मृतकका घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र शव बुझ्ने अडान राखेपछि एक हप्ता हुँदासम्म पनि आफन्तले शव बुझ्न नमानेका कारण शव अस्पतालमै राखीएको हो ।
शव परीक्षण रिपोर्टबाट कुनै पनि कुरा नदेखिएपछि भिसेरा परीक्षणका लागि अहिले नमूना काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय डोटी मुद्दाफाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताएको छ ।
डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा गरिएको शव परीक्षण रिपोर्टमा हत्याको कुनै कुरा उल्लेख नभएपछि अनुसन्धानमा समस्या भएको प्रहरी अधिकारीले जानकारी दिएको छ ।
प्रहरीको अनुसन्धान टोलीले मृतक भट्टराईको हत्याको अनुसन्धानमा अहिलेसम्म पनि कुनै तथ्य फेला पार्न नसकेकोमा आफन्तले गुनासो गरेका छन् । मृतक भट्टराईका दाई उद्धव भट्टराईले घटनाको पूर्ण अनुसन्धान नभएसम्म शव नबुझ्ने बताउँदै आएका छन् ।
मृतक २७ वर्षीय शिक्षक भट्टराई बैतडीको पाटन नगरपालिका–१ सकार पलेटाका बासिन्दा हुन् । उनले विगत १० वर्षदेखि भूमिराज केदार आधारभूत विद्यालय बस्यानी डोटीमा अध्यापन गराउँदै आएका थिए ।