काठमाण्डौं/२५ फागुन– महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधारको नारा सहित नारी दिवसको अवसरमा शैक्षिक क्षेत्रका प्रबुद्ध महिला समुहले आयोजना गरेको अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
नारी दिवसको सन्दर्भमा शिक्षा क्षेत्रमा लागेका महिलाहरु एकै ठाउँमा भेला भएर महिलाहरुको नेतृत्व विकासमा अझ प्रोत्साहन गर्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गर्दै ललितपुरको ईमाडोलस्थित ईन्द्रेणी फुड ल्याण्डमा सो कार्यक्रम सम्पन्न गरेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि डा. निर्मला के.सीले कार्यक्रममा बोल्दै राज्यको शिक्षा क्षेत्र प्रणाली निकै कमजोर भएका कारण अब सरकारले शिक्षा क्षेत्रको प्रणालिमा सुदृढ गर्नुपर्ने बताईन् । साथै, उनले भनिन्, “राज्यले सैद्धान्तिक पढाईमा मात्र नभई त्यसलाई व्यवहारमा पनि लागू गर्न सक्नुपर्छ र विभिन्न विद्यालय तथा कलेजले पढाउने तरिकालाई अब परिवर्तन गर्न जरुरी छ ।” त्यस्तै, शिक्षालाई तल्लो तहदेखि नै अझ मजबुद बनाएर जानुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरुमा अवसर प्रदान गर्ने हो भने पुरुषहरु भन्दा महिला शिक्षकहरु उत्कृष्ट भएर आउन सक्ने उनी बताउँछिन् ।
डा. के.सीका अनुसार आवश्यक प्रोत्साहन र प्रेरणा दिन सक्यो भने महिलाहरुले पनि आफ्नो क्षमता प्रस्तुत गर्न सकिन्छ ।
कार्यक्रम संयोजक दीपिका थापा रिमालले महिलाहरुलाई शिक्षा क्षेत्रमा आवद्ध बनाएर नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्र्ने भन्ने विषयमा केन्द्रित भएर अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको जानकारी दिएकी छिन् । साथै, शैक्षिक क्षेत्रमा संलग्न विभिन्न महिला व्यक्तित्वहरुबीच सम्बन्ध विस्तार गर्न यो कार्यक्रमले सहयोग गर्ने र आगामी दिनमा यस्तो कार्यक्रमलाई निरन्तरता दिने उनले बताईन् ।
संयोजक रीमालले महिलाहरुमा घरपरिवारलाई मात्र नभई विभिन्न संघ–संस्था पनि सम्हाल्न सक्ने क्षमता भएको हुँदा उनलाई उचित अवसर दिन सक्यो भने पुरुष सरह नै अगाडी बढ्न सक्ने कुरामा जोड दिँदै उनले भनिन् “घरको कामकाजमा महिला दिदी–बहिनीहरु आफ्नो व्यस्तताका बाबजुद पनि समयको व्यवस्थापन गरेर अब अगाडी बढेर आउन सक्नुपर्छ । जहिले पनि सुरक्षित आरक्षणमा मात्र बसेर महिला दिदीबहिनीहरु पछाडि परेकै हो । तसर्थ, सुरक्षित आरक्षणमा नबसी अब महिलाले म सक्छु भनेर आफ्नो प्रतिभा र क्षमता देखाउन जस्तोसुकै जोखिम मोलेर भए पनि आफ्नो जोश र साहसलाई बाहिर ल्याउनुपर्छ, अनि मात्र महिलाले पुरष सरह अगाडि बढ्न सकिन्छ ।”
साथै, महिलाहरुमा कुशलतापूर्वक हरेक कार्य व्यवस्थापन गर्न सकिने क्षमता भएका कारण जुनसुकै क्षेत्रमा यदि महिलालाई ठाउँ र जिम्मेवारी दिई उनीहरुलाई नेतृत्व प्रदान गर्ने हो भने ती संघ–संस्था झन् अगाडी बढ्ने उनले धारणा व्यक्त गरिन् ।
सो कार्यक्रममा ललितपुर, काठमाण्डौं र भक्तपुर गरी विभिन्न विद्यालयहरुका झण्डै ५५ जना महिला प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो भने विभिन्न शैक्षिक क्षेत्रमा संलग्न महिला व्यक्तिहरुको सहभागीता रहेको थियो ।









