निरशोभा बलामी
काठमाडौ /२४ फागुन – हिन्दू धर्म ग्रन्थमा भनिएको छ कि यत्रः नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवताः अर्थात् जहाँ नारीहरुको पूजा हुन्छ, त्यहाँ देवताहरु रमाउने गर्छन् । यसरी परा पूर्व काल देखी नै नारी र नारीको सशक्तिकरणबारे विशेष चर्चा गर्दै शास्त्रहरुले पनि नारीको महिमा गाएको पाईन्छ । हिन्दू धर्म ग्रन्थमा मात्रै नभई संसारको हरेक ग्रन्थमा नारीको महत्वलाई प्राथमिकतामा राखिएको छ ।
आजको आधुनिक समयमा महिला सशक्तिकरण एक विशेष चर्चाको विषय बनेको छ । राष्ट्रको विकासमा महिलाको महत्व र अधिकारका विषयमा समाजमा जागरुकता ल्याउनका लागि मातृ दिवस, अन्तर्राष्ट्रिय नारी दिवस जस्ता विभिन्न कार्यक्रम सरकारले समयसमयमा ल्याईरहेको हुन्छ ।
अन्तर्राष्ट्रिय नारी दिवस वास्तवमा मजदुर आन्दोलनको उपज हो, जसलाई पछि संयुक्त राष्ट्रले मान्यता दिएको थियो । आजभन्दा करिब एक सय १३ वर्ष अगाडि अर्थात् सन् १९०८ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो । त्यतिबेला महिलाहरूले कामको उचित मूल्य, समय, स्वस्थकर वातावरण, सामाजिक सुरक्षा र मत खसाल्न पाउने समान अधिकारको माग गर्दै करिब १५ हजार महिलाहरूले गरेको अमेरिकाको न्यूयोर्क शहरको सडकमा हड्ताल र विशाल जुलुस प्रदर्शनको फलस्वरुप मनाईने महिला तथा नारी दिवस आजको दिनमा चर्चाको विषय बनेको छ ।
हरेक वर्ष मनाईने अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलाको अवस्थाबारे विभिन्न टिकाटिप्पणी गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै उनीहरुको सम्मान र गुणगान गाईन्छ । तर, विडम्बना ! २१ औं शताब्दीमा आईसक्दा पनि आजको समयमा नारी सशक्तिकरणको आवश्यकता महशुस भएको देखिन्छ । आजभन्दा एक सय १० वर्षअगाडि श्रमिक महिलाको अवस्था जस्तो थियो, अहिले पनि त्यस्तै छ । शोषणका स्वरुपमा परिवर्तन आएको छ तर स्थितिमा अपेक्षाकृत सुधार भने आएको छैन ।
नेपालको सन्दर्भमा महिला र पुरुष बराबार हुन् भन्ने कुरा सोचाईमा मात्रै सीमित छ । विश्वका धेरै मुलुकहरूमा जस्तै नेपालमा पनि महिला र पुरुष बीच विभेदको ठूलो खाडल छ । हाम्रो समाज परम्परा देखि नै पुरुष प्रधान रहंदै आएको छ । कानुनी रूपमा महिलाहरूको उपस्थितिलाई मान्यता प्रदान गरिए पनि परिवारमा, समाजमा पुरुष तथा महिलाको भूमिका, कार्यव्यवहार, अधिकार आदि परम्परा देखि नै सीमांकित हुंदै आईरहेका छन् ।
यहाँको सामाजिक, आर्थिक, शैक्षिक, राजनितिक, प्रसाशनिक लगायतका सबै क्षेत्रमा पुरूषको तुलनामा महिलाको पँहुच ज्यादै न्यून छ । परम्परागत रूपमा जातपातको भेदभाव, चाँडो विवाह, छोरा मान्छेको महत्त्व जस्ता मान्यताका कारणले महिलाको स्तर अझैसम्म पनि विकास हुन सकेको छैन ।
हरेक क्षेत्रमा महिला भेदभाव छ । साक्षरता, उच्च शिक्षा र सार्वजनिक ओहोदामा पुरुष सरह महिलाको समान रूपमा सहभागिता हुन सकेको छैन । जसले गर्दा पुरुषको तुलनामा महिलाहरु धेरै नै पछाडि परेका छन् ।
ग्रामीण क्षेत्रमा अझैपनि महिलालाई कमजोर पात्रका रुपमा हेर्ने गरिन्छ । अशिक्षा, भेदभाव र अवसरबाट वञ्चित ग्रामीण क्षेत्रका महिलाहरु धेरै नै पिछडिएको अवस्थामा छ । सरकारले महिलाहरुका लागि जति पनि सीप तथा तालिमका योजनाहरु ल्याइएका छन्, ती सबै प्रायः जसो सहरी क्षेत्रमा मात्र सीमित हुँदा ग्रामीण क्षेत्रका महिलाहरु अगाडि बढ्न सकिरहेका छैनन् ।
विभिन्न कलकारखाना र उद्योगहरूमा पनि महिलाहरूलाई निम्न स्तरको पारश्रमिक दिने र मामुली तथा साधारण काममा लगाउने कार्य गरीन्छ । हरेक क्षेत्रमा महिलाहरु शोषणमा परेका छन् । २१ औं शताब्दीमा पनि आफ्नो हक र अधिकारका लागि उनीहरुले आवाज उठाउनुपर्ने बाध्यता छ । विभिन्न कार्य क्षेत्रमा, व्यवसायमा, उद्योग तथा वाणिज्यमा महिलाहरुलाई हेर्ने दृष्टिकोण फरक छ । आफ्नो घर– परिवार र समाज देखि लिएर देशको उच्च तह तथा क्षेत्रहरुमा महिलाहरुको भेदभाव हुनुका साथै समाजमा घरेलु हिंसा, दुव्र्यवहार, भ्रुण हत्या, असमानता, यौन–हिंसाका सिकार बन्नुपरेको धेरै उदाहरण देख्न सकिन्छ ।
स्त्रीलाई मानव जातिको अस्तित्व मानिन्छ । आजको समयमा पनि अधिकांश महिला आफ्नो घरदेखी लिएर बाहिरी समाज र दुनियाँको नराम्रो व्यवहारबाट पीडित छन् । उनीहरु कहिले दाईजो प्रथाको नाममा त कहिले मानव तस्करीको नाममा, कहिले यौन दुव्र्यवहार त कहिले घरेलू हिंसाको नाममा जताततै असुरक्षीत छन् ।
नेपाली समाजमा अहिलेसम्म पनि पुरानो तथा रुढीवादी सोच र परम्परा भएका कारण महिलाहरु पुरुष सरह हरबखत घरबाट स्वतन्त्र रुपले काम तथा रोजगारमा जान सक्दैनन् । समाजमा पुरुष प्रधानको वर्चस्व कायम नै रहेकाले महिलाहरुलाई विभिन्न कार्यक्षेत्रमा समस्या भएको देखिन्छ । हाम्रो समाजमा पितृसत्तात्मक सोच भएका कारणले गर्दा महिलाहरू विभिन्न प्रकारका विभेद तथा हिंसाबाट पीडित छन् ।
सन् २०११ को जनगणना अनुसार महिला जनसङ्ख्या साक्षरता दर ६५.९ प्रतिशत रहेको पाईन्छ भने पुरूष जनसङ्ख्याको साक्षरता दर ७१.१ प्रतिशत रहेको छ । यसलाई पुरूष जनसंख्यसँग तुलना गर्ने हो भने झण्डै ११ प्रतिशतको अन्तर देखिन्छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कुल जनसङ्ख्यामध्ये महिलाको संख्या जम्मा १,३६,४५,४६३ अर्थात् ५१ प्रतिशत रहेको पाईन्छ । यसर्थ देशमा महिलाको संख्या अधिक भएतापनि परिवारदेखि राज्यको हरेक क्षेत्रमा महिलाको सहभागिता न्युन अवस्थामा छ । राज्यका हरेक पक्षमा उनीहरु पिछडिएका छन् ।
भनिन्छ, एक महिला शिक्षित भए सबै परिवार नै शिक्षित हुन्छन् । तसर्थ, महिला र पुरुषबीचको भिन्नता अब भने अन्त्य हुनुु जरुरी छ । यसका लागि सर्वप्रथमतः महिलाहरुलाई परिवारको साथ–सहयोग चाहिन्छ । महिलालाई घरपरिवारको साथ र सहयोग भएमा जुनसुकै क्षेत्रमा आफूलाई स्थापित गर्न सकिन्छ । महिलालाई अवसर प्रदान गर्ने हो भने जुनसुुकै क्षेत्रमा पनि उनी आफूलाई अब्बल सावित गर्न सक्छिन् । विवाहपछि पनि महिलालाई काम गर्न सक्ने सुअवसर प्रदान गर्नुपर्छ । अनि मात्र समाज र राज्यको सर–सहयोग र अवसरमा हातेमालो गर्दै उनी अघि बढ्न सकिन्छ । यसका लागि सचेतना कार्यक्रमको खाँचो छ ।
वर्तमान समयमा केही विकसित देशहरुमा महिलाहरु पुरुष सरह काँधमा काँध मिलाई ठूल्ठूला क्षेत्रहरुमा महत्वपूर्ण योगदान दिईरहेका छन्, चाहे त्यो काम मजदूरीको होस् या अंतरिक्षमा जानेमा होस् । महिलाहरु आफ्नो योग्यता हर क्षेत्रमा साबित गरीरहेका छन् ।
महिलाहरुलाई सक्षम बनाउन र महिला सशक्तिकरणका कार्यक्रमलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गरी सबै क्षेत्रमा महिलालाई विभेद रहित रुपमा काम गर्न सक्ने वातावरण निर्माणमा सबैले सहयोग गर्नुपर्छ । महिलालाई अगाडि बढ्ने मौका दिनुपर्छ ।
नेपालको इतिहासमा पहिलो पटक समग्रमा महिलाका लागि विशेष प्राथमिकता दिंदै संविधान त बनाईयो तर, संविधान राम्रो बनाएर मात्रै हुँदैन त्यसलाई प्रभावकारी कार्यान्वयनमा पनि लैजान आवश्यक छ । महिलाको अधिकारलाई सुनिश्चित गर्न संविधानलाई व्यवहारमा उतार्नु अपरिहार्य छ ।
महिला सशक्त बनाउन राज्य तथा सम्बन्धित निकायहरुले उनीहरुको अधिकारलाई सुनिश्चित बनाउनुपर्छ । महिलालाई सशक्त र सबल बनाउन राज्यका नीति निर्माणका कार्यहरुमा महिला सहभागिता बढाउनुपर्छ । राज्यले जुनसुकै क्षेत्रमा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने नीति बनाइएको छ । त्यसलाई परिवर्तन गरी ५० प्रतिशत बनाउन सकेमा मात्र महिला दिवसको सार्थकता हुनेछ । महिलाले पनि परिवार, समाज र विभिन्न बाधा– बन्धनबाट मुक्त भएर आफ्नो निर्णयको निर्माता आफै हुन सक्नुपर्छ । तबमात्र महिला सशक्तिकरणले वास्तविक रुपमा सार्थकता पाउँछ ।
वर्षमा एकचोटि नारी दिवसलाई पर्वका रुपमा मात्र मनाउने भन्दा पनि नारीमा भएको क्षमता, सीप र ज्ञानलाई प्रस्तुत गर्न साथ र सहयोग दिई हरेक क्षेत्रमा नारी र पुरुष बराबार हुन् भन्ने मानसिकता विकास गराउन आवश्यक छ । नारी सशक्तिकरणले तब मात्र साँच्चिकै अर्थ पाउंछ जब देशमा महिलाहरुलाई राम्रो शिक्षाको व्यवस्था हुन्छ र हरेक क्षेत्रमा स्वतन्त्र भई उनले निर्णय लिन सकिन्छ ।



