एकैपटक ३४ जना शिक्षक सरुवा गरेपछि उच्च अदालतमा मुद्दा दायर

बाँके/२१ फागुन– डुडवा गाउँपालिकाले एकै पटक ३४ शिक्षकको सरुवा गरेपछि शिक्षक तथा विद्यालय व्यवस्थापन समितिले त्यसविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् ।
राजनीतिक पूर्वाग्रहका कारण गाउँपालिकाले मापदण्ड मिचेर शिक्षकको फेरबदल गरिएको भन्दै उनीहरुले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका हुन् ।
शिक्षक सरुवाविरुद्ध उच्च अदालतमा परेको रिट निवेदनमा अदालतले रोक्ने अन्तरिम आदेश नदिएको र थप छलफलका लागि आगामी चैत २ गतेको मिति तोकेको जानकारी दिंदै नेपाल शिक्षक महासङ्घ डुडुवा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र रेग्मीले नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले सङ्घीय कानून विपरीत अनावश्यक रुपमा शिक्षक सरुवा गरेको आरोप लगाएका छन् ।
दुई जना मात्रै स्थायी दरबन्दी भएको विद्यालयबाट स्थायी दरबन्दी नै नभएको विद्यालयमा शिक्षक सरुवा गरिएको रेग्मीले बताए । उनले भने, “यो कानून विपरीत हुनुका साथै यसले विद्यालयको गुणस्तरीय शिक्षामा समेत प्रभावित पार्छ ।”
माविमा रहेको न्यूनतम दरबन्दी चलाउन नपाइने भएपछि स्थानीय तहले गरेको उक्त निर्णय ढिलोचाँडो बदर हुने शिक्षकले बताएका छन् । डुडवा गाउँपालिकाले भने शैक्षिक सुधारका लागि शिक्षक सरुवा गरेको बताएको छ । डुडुवा गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले स्थानीय तहले शिक्षा सुधारका लागि दरबन्दी मिलान गरेको र केही शिक्षक र एक विद्यालयले दरबन्दी मिलान गर्दा असन्तुष्टि व्यक्त गरेको प्रतिक्रिया जनाए । उनले विभागले दरबन्दी मिलान गर्न ताकेता गरिरहेकाले गाउँपालिकाले कानूनबमोजिम प्रक्रियागत रुपमा नै दरबन्दी मिलान गरेको धारणा व्यक्त गरे ।
उनका अनुसार माविमा प्लस टु सञ्चालनको तयारी पनि भइहेकाले गाउँपालिका शिक्षा समितिले शैक्षिक गुणस्तर उकास्नका लागि मापदण्डबमोजिम नै निर्णय लिएको छ । उनले दरबन्दी मिलानविरुद्ध आफूहरु नरहेको बताउंदै प्राविदेखि माविसम्मका ३४ शिक्षकको दरबन्दी मिलान भएको पनि जानकारी दिए ।