जुम्ला/फागुन २०– कर्णाली प्रदेश सरकारको चालू आव २०७७/०७८ मा विनियोजित बजेटमा छुटेको उच्च शिक्षा छात्रवृत्तिको बजेट रकम जुम्लामा पुगेको छ ।
कर्णाली प्रदेश सरकारले सो प्रदेशका १० वटै जिल्लामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि वर्षेनि प्रदान गर्दै आईरहेको छात्रवृत्ति सेवा जुम्ला जिल्लामा छुटेको थियो ।
जुम्लाका लागि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत रु १४ लाख ८० हजार निकासा पठाएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलवीर सुनारले जानकारी दिए ।
प्रदेशका नौ जिल्लामा उच्च शिक्षाका लागि छात्रवृत्ति पहिले नै पठाइए पनि जुम्लामा भने बजेट नगएका कारण उच्च शिक्षा छात्रवृत्ति सेवा रोकेको थियो । सो बजेटको व्यवस्था गरी प्रादेशिक मन्त्रालय गत बजेट सूचना प्रणालीमा प्रविष्ट गराउन कार्यालय प्रमुख बलवीर सुनारले मन्त्रालयलाई सम्बोधनको पत्राचार गरेका थिए ।
सामाजिक विकास मन्त्रालयले प्रत्येक वर्ष उच्च शिक्षा अध्ययन गरिरहेका छोरी–बुहारी, दलित, अपाङ्गता भएका व्यक्ति र कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा जीवन आहुति दिएका शहीदका सन्ततिलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
जुम्लाका लागि बजेटको निकासा हुँदा अध्ययन क्षेत्रमा ठूलो राहत पुगेको कार्यालय प्रमुख सुनारले बताए । उनका अनुसार प्राप्त बजेटमा उच्च शिक्षा छात्रवृत्ति छोरीबुहारीतर्फ रु एक लाख नबढाई १०, दलित र अपाङ्गतर्फका छात्रवृत्तिमा प्रतिव्यक्ति रु २४ हजारका दरले १०÷१० जना गरी जम्मा ३० जनालाई छात्रवृत्ति उपलब्ध गराइने र त्यसका लागि विद्यार्थीको आवेदन लिने काम समेत शुरु भएको उनले बताए ।



