लुम्बिनी /१७ फागुन– सरकारले देवदहस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम विस्तारका लागि एक सय बिगा जमिन प्रदान गरेको छ ।
मन्त्री परिषद्को फागुन ११ गते बसेको बैठकले देवदह नगरपालिका वडा नम्बर ८ स्थित बुद्धमावली सामुदायिक वन क्षेत्रको जग्गा विश्वविद्यालयलालाई दिने निर्णय गरेको हो ।
लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम विस्तारका लागि जग्गा अपुग रहेको भन्दै विश्वविद्यालयले पाँच वर्षदेखि देवदहमा जग्गा प्राप्तीका लागि पहल थालेको थियो । अर्थ मन्त्रालयले विश्वविद्यालयका लागि जमिन दिँदा चाहिने करिव २० करोड रकम वन मन्त्रालयलाई दिने प्रतिवद्धतापछि मन्त्रीपरिषद्ले जग्गा दिने निर्णय गरेको हो । सोही अनुरुप देवदहमा ६१ दशमलव २५ हेक्टर क्षेत्रफल रहेको जग्गामा विश्वविद्यालयले पूर्वाधार निर्माण गर्नेछ ।
लामो समयको मेहनतपश्चात् देवदहमा जग्गा प्राप्ति भएको विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले बताए । उनले भने, ‘यही जग्गाका लागि म आफैँ पनि पाँच वर्षसम्म लागि परेँ, अर्थमन्त्री विष्णु पौडेलको विशेष पहलपछि क्याविनेटले जग्गा दिने निर्णय गरेको छ । यो विश्वविद्यालयको मात्रै नभइ लुम्बिनी प्रदेशकै लागि ठूलो उपलब्धी हो । यसको पूर्वाधार निर्माणको काम तत्काल नै सुरु हुने रजिष्ट्रार आचार्यले बताए ।
विश्वविद्यालयले अहिले तीन वटा विषयमा देवदहमै पठनपाठन सुरु गरिसकेको छ। अहिले विश्वविद्यालयमा करिव ३ हजार विद्यार्थी अध्ययनरत छन् ।



