अब हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन हुने

हेटौंडा/१३ फागुन– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अब हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताएका छन् ।
भूकम्पका कारण पूर्णरुपमा क्षति भई पुनःनिर्माण गर्न लागेको हेटौँडास्थित महेन्द्र माध्यामिक विद्यालय पदम पोखरीको भवन शिलान्यास गर्ने क्रममा मुख्यमन्त्री पौडेलले सो भनाई राखेका हुन् ।
शिक्षामा जोड दिनसके विद्यालयलाई दक्षजनशक्ति तथा रोजगार उत्पादन गर्ने थलोको रुपमा बुझाउन सकिने उनले धारणा व्यक्त गरे । विद्यालयले ज्ञानसँगै सीपमा आधारित ठाउँ विशेष आवश्यक पर्ने शिक्षालाई प्राथमिकता दिंदै प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ शिक्षाका प्रमुख बद्रीबहादुर पाठकले जापान सरकारको ऋण सहयोगमा मकवानपुरमा ४१ विद्यालय भवन पुनःनिर्माण भइरहेको बताउँदै अधिकांश भवनको पुनःनिर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिए ।
उनले आजदेखि निर्माण प्रारम्भ भएको २१ कोठे भवनको कर बाहेक रु पाँच करोड ३५ लाखमा सम्पन्न हुने गरि कम्पनीले सन् २०२२ को अगस्ट ५ सम्ममा निर्माण गरिसक्नुपर्ने गरी निर्माण कम्पनी शर्मा जेभीसँग सम्झौता गरिएको समेत बताए ।