शिक्षक र विद्यार्थीहरुको बिरामी संख्या बढ्न थालेपछि विद्यालय बन्द

बझाङ/१३ फागुन– बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीहरुको बिरामी संख्या बढ्न थालेपछि सो विद्यालय केही दिनका लागि बन्द गरिएको छ ।
सो विद्यालयका विद्यार्थी र शिक्षकहरु करिब एक हप्तादेखि एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो ।
बिरामी विद्यार्थी र शिक्षकमा दम खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने तथा वाकवाकी लाग्ने जस्ता कोरोनाको जस्तै लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताए ।
करिब २ सय ४५ विद्यार्थी र ११ जना शिक्षक रहेको धुली माविले नजिकै रहेको धुली सामुदायिक स्वास्थ्य केन्द्रबाट उपचार गर्दा पनि बिरामीहरुमा कुनै परिवर्तन नआएको समेत उनले बताए । उनले कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षकमा यस्तो समस्या देखिएको जानकारी दिए ।
एक हप्तासम्म औषधोपचार गर्दा पनि बिरामी विद्यार्थी र शिक्षकलाई ठीक नभएपछि बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।