जुम्लामा परेन उच्च शिक्षा छात्रवृत्ति सेवा

जुम्ला/फागुन १३– कर्णाली प्रदेश सरकारले सो प्रदेशका १० वटै जिल्लामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि वर्षेनि प्रदान गर्दै आईरहेको छात्रवृत्ति सेवा यो वर्ष जुम्ला जिल्लालाई उपलब्ध गराउन सकेन ।
प्रदेशका नौ जिल्लामा उच्च शिक्षाका लागि छात्रवृत्ति पठाइए पनि जुम्लामा भने अहिलेसम्म बजेट नगएका कारण चालू आव २०७७÷७८ मा उच्च शिक्षा छात्रवृत्तिका लागि जुम्ला जिल्ला समावेश हुन नसकेको हो ।
गत असोज १६ गते नै सामाजिक विकास मन्त्रालयअन्तर्गत्को जिल्लागत बजेट खर्चमा सामाजिक विकास कार्यालय जुम्लाको छात्रवृत्तितर्फको बजेट विनियोजन नभएको सामाजिक विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बलवीर सुनारले जानकारी दिए ।
उनले अन्य सबै जिल्लाले छात्रवृत्तिका लागि एक महिनाको अवधि राखेर सूचना गरिसकेको बताउंदै जुम्लाले भने छात्रवृत्तिको बजेटको निकासा समयमै गर्न नपाउँदा समस्या भएको चिन्ता व्यक्त गरे ।
सामाजिक विकास मन्त्रालयले छोरी–बुहारी, दलित, अपाङ्गता भएका व्यक्ति र आन्दोलनमा शहीद भएका सन्ततिलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
छात्रवृत्ति नगएपछि जुम्लामा उच्च शिक्षामा अध्ययन गर्ने विद्यार्थीहरु सो सेवाबाट वञ्चित भएका छन् । । सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जुम्लाको छात्रवृत्तिका लागि बजेटको फाइल आर्थिक मामिला मन्त्रालयले प्रदान गर्दा पनि कुनै प्रक्रिया नचालेको जानकारी दिए ।
बजेट नपर्नुमा जुम्ला सामाजिक विकास कार्यालयको कमजोरी भएको गुनासो व्यक्त गर्दै कर्णाली प्रदेशका शिक्षा विकास निर्देशनालय निमित्त निर्देशक दीपा हमालले बजेटको अभाव नभएको तर आर्थिक मामिला तथा योजना मन्त्रालयले काम अड्काएको आरोप लगाए । उनले कर्णाली प्रदेश प्राप्तिको आन्दोलनका दुई शहीद परिवारलाई २४ हजार रकमका दरले रु ४८ हजार भए पुग्ने जनाउँदै सो शीर्षकमा विनियोजित रु २२ लाख बजेट निकासा गर्नुपर्ने बताए ।