सामुदायिक विद्यालयको दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध


काठमाडौं /४ फागुन – शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ ।

सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय स्तरमा उत्पादन हुने खानेकुरालाई प्राथमिकता दिदै विभिन्न ६० प्रकारका परीकार तयार गरेर पुस्तिका सार्वजनिक गरेको हो ।

सरकारले देश भरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजाका लागि रु सात अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयमा पठाइसकेको कार्यक्रममा जानकारी दिएको छ ।