दोस्रो चरणको खोप कार्यक्रममा शिक्षक–कर्मचारीलाई समावेश गर्न प्याब्सनको माग

काठमाण्डौं/२ फागुन– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शनिबार एक विज्ञप्ति जारी गर्दै दोस्रो चरणको खोप कार्यक्रममा शिक्षक–कर्मचारीलाई समावेश गर्न नेपाल सरकारसँग माग गरेको छ ।
प्याब्सनले कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु सञ्चालनमा आएपछि पनि कोभिडको त्रास कायमै रहेकाले शिक्षक तथा कर्मचारीको स्वास्थ्यमा ध्यानाकर्षण गराउन भन्दै विज्ञप्ति जारी गरेको हो ।
कोभिडको त्रास कायमै रहेको अवस्थामा खोप कार्यक्रमको पहिलो चरण सकेर पनि दोस्रो चरणको प्रारम्भमा सेना, प्रहरी, निजामती कर्मचारीहरु लगायतलाई प्राथमिकतामा पारिएको तर, विद्यालयदेखी विश्वविद्यालय सम्म अध्ययनरत पचासौं लाख बालबालिका तथा युवाहरुको दैनिक प्रत्यक्षमा आउने शैक्षिक संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई प्राथमिकतामा नराखेको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरीले चिन्ता व्यक्त गरे ।
उनले विद्यालयहरुमा कार्यरत एक लाख पचहत्तर हजार शिक्षक कर्मचारी लगायत सबै शिक्षक समुदायलाई प्राथमिकतामा पारी खोप कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्दै मन्त्रालयमा परिपत्र गरिसकेको भएता पनि दोस्रो चरणमा समावेश नगरिएकाले बालबालिकाको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै दोस्रो चरणको खोप कार्यक्रममा शिक्षकहरुलाई पनि फ्रन्टलाईनका रुपमा लिई समावेश गर्न नेपाल सरकार तथा सम्बन्धित निकायहरुसँग माग गरेको छ ।
यसअघि नेपाल शिक्षक महासङ्घ, नेपाल अभिभावक सङ्घ, प्याब्सन, एन प्याब्सनलगायत संस्थाले शिक्षकहरुलाई कोभिड खोप लगाउन आग्रह गर्दै मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए । महासङ्घका अध्यक्ष बाबुराम थापा, प्याब्सनका अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कोभिड–१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरेका थिए ।
सरकारले दोस्रो चरणमा पत्रकार र विदेशी दूतावास, कुटनीतिक नियोगका अधिकारीलाई खोप लगाउन शु्रु गरिसकेको छ । माघ १४ गतेबाट शुरु भएको अभियानको दोस्रो चरण सोमबारबाट शुरु भईसकेको छ । कोभिड विरुद्धको खोपका लागि शिक्षक कर्मचारीको यकिन विवरण संकलन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत पुस १० गते नै परिपत्र गरेको थियो ।