काठमाण्डौं /२८ माघ–शिक्षक सेवा आयोगले लामो समय भइसक्दा पनि विज्ञापन खुलाउन सकेको छैन । विज्ञापन खुलाउने प्रक्रियामा ढिलाई गरेका कारण अध्यापन अनुमति पत्र लिएर बसेका हजारौं व्यक्तिहरू अहिले अन्यौलमा परेका छन् ।
पदपूर्तिका लागि तथ्यांक पठाउने समयसीमा ऐन नियमावलीमा स्पष्ट किटान नहुँदा वार्षिक कार्यतालिका निर्माण गरी नियमित रूपमा विज्ञापन गर्न नसक्दा हजारौं अध्यापन अनुमति पत्र प्राप्त व्यक्तिहरु मारमा परेका छन् ।
आयोगले हालसम्म ७ लाख १७ हजार १०५ जनाले अध्यापन अनुमति पत्र लिएको जनाएको छ । अगाडीको वर्ष मात्र आयोगले करिब १७ हजार जनालाई शिक्षक अनुमतीपत्र वितरण गरेको थियो । प्राथमिक तह अन्तर्गत २ लाख दुई हजार ७ सय १२, निम्न माध्यामिक तह अन्तर्गत ३ लाख ७० हजार १२ र माध्यामिक तह अन्तर्गत एक लाख ४४ हजार ३ सय ८१ जनाले अध्यापन अनुमति पत्र प्राप्त गरेको छ । तीमध्ये केहीको स्थायी पदपूर्तिमा नाम रहेको छ ।
त्यसै गरी आयोगले खुला प्रतियोगिता र अस्थायी कार्यरत शिक्षकलाई प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्दै हालसम्म ५८ हजार ७ सय ३७ जनाको स्थायी पदपूर्ति गरेको छ । जसमा प्राथमिक तहमा ३८ हजार १ सय १३, निम्न माध्यामिक तहमा ११ हजार ७०७ र माध्यमिक तहमा ८ हजार ९ सय १८ जनालाई स्थायी पदपूर्ति गरेको छ ।
शिक्षक सेवा आयोगको ०७४/ ०७५ पश्चात् यता विज्ञापन खुलेको छैन । यो वर्षे प्राथामिक तह, निम्म माध्यामिक तह र माध्यमिक तहमा गरि १४ हजार ७ सय ५२ पदका लागि विज्ञापन खोल्ने तयारीमा आयोग रहेको छ ।



