ईलाम/ १४ माघ– कोरोना महामारी पछि शैक्षिक सत्रको बीचबाट खुलेका अधिकांश सार्वजनिक विद्यालयहरुमा विद्यार्थीहरुको चाप बढ्दै गईरहेको छ ।
निजी तथा संस्थागत विद्यालयमा पूरै तथा अतिरिक्त सेवामार्फत् पठनपाठनको शुल्क तिर्नुपर्ने सम्भावना देखेपछि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना हुने चाप बढेको हो । साथै यो वर्ष भन्दा पहिले निजी तथा संस्थागत विद्यालयमा पढिरहेका बालबालिका समेत सामुदायिक विद्यालयमा तानिएका छन् ।
यस वर्ष कोरोना महामरीका कारण विद्यालयले भर्ना अभियान गराउन पाएनन् । विगत्का वर्षमा घरघर पुगेर विद्यार्थी भर्ना अभियान चल्थ्यो तर यो वर्ष अभियानै नचलाउँदा पनि विद्यार्थी आएको सामुदायिक विद्यालयका शिक्षक बताउँछन् ।
विगतको तुलनामा झण्डै ३० प्रतिशत विद्यार्थी बढेको ईलाम सदरमुकामस्थित आदर्श माध्यमिक विद्यालयका एक शिक्षकले बताए । उनले आदर्श विद्यालयमा मात्र नभई समग्र जिल्लाका सबै सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको तर आधिकारिक तथ्याङ्क भने कसैसँग नभएको जानकारी दिएका छन् ।
यसैगरी अपेक्षाभन्दा केही विद्यार्थी संस्थागत विद्यालयमा भर्ना भएतापनि विगतमा भन्दा केही सङ्ख्यामा घटेको छ । सरकारी विद्यालयमा विद्यार्थी पढाउँदा छात्रवृत्ति पाउने, कम शुल्कमा पठनपाठन हुने, पुस्तकको निःशुल्क व्यवस्था हुने र उच्च शिक्षामा विभिन्न अवसरमा सामेल हुन पाइने आश्वासनले पनि माथिल्ला कक्षामा संस्थागत विद्यालय छाड्ने गरेको अनुमान छ ।
जिल्ला शिक्षा तथा समन्वय एकाइ कार्यालय ईलामका अनुसार निश्चित स्थानका विद्यार्थी बढेको जनाएको छ ।



