२२ वर्षपछि बल्ल संस्कृत विश्वविद्यालयकोे पाठ्यक्रम परिमार्जन

काठमाडौँ /४ माघ – नेपाल संस्कृत विश्वविद्यालयले स्नातक तहमा बल्ल २२ वर्षपछि परिवर्तित पाठ्यक्रम परिमार्जन गरेको छ ।
विश्वविद्यालयले स्नातक (शास्त्री) का ५६ विषयको कोर्ष परिमार्जन गरेको हो ।

विश्वविद्यालयमा विद्यार्थी आकर्षण घट्दै गएपछि संस्कृत शिक्षालाई आधुनिकीकरण गर्ने उद्देश्यले पाठ्यक्रम परिमार्जन गरिएको प्राडा यादवप्रकाश लामिछानेले बताए । अब स्नातक तह (शास्त्री)मा भर्ना हुने विद्यार्थीले नयाँ कार्ष अध्ययन गर्न पाउने भएका छन् । अधिकांश विषयको नयाँ कार्ष तयार भईसकेको, केही मात्र बाँकी रहेको र नयाँ विषयवस्तुलाई समेटेर संस्कृत विषयलाई व्यावसायिक बनाउन खोजेको उनले बताए ।

अब २२ वर्षदेखि एउटै कोर्ष पढ्दै आएका विद्यार्थीले शास्त्री चार वर्ष अध्ययन गर्नु पर्ने भएको छ । यो भन्दा पहिला शास्त्री तीन वर्षको मात्र पढाइ हुन्थ्यो । त्यस्तै, विश्वविद्यालयले वास्तुशास्त्र सम्बन्धी इन्जिनियरिङ अध्यापन पनि गराउने भएको छ । सो परिमार्जित पाठ्यक्रम यो वर्षदेखि कार्यान्वयन गर्ने भएको छ । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि भर्ना प्रक्रिया पनि सुरु हुने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले औषधि उत्पादन विज्ञानमा पनि कार्यक्रम सञ्चालनको तयारी गरेको छ । यससँगै, विश्वविद्यालयले प्राकृतिक र आधुनिक पद्धतिका सबै सेवा एकै ठाउँमा उपलब्ध गराउने लक्ष्यसहित एकीकृत अस्पताल सञ्चालन गर्ने भएको छ । अस्पताल निर्माणका लागि नेपाल सरकारले बजेट व्यवस्थापन गरेको विश्वविद्यालयले जनाएको छ ।

स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या अहिले तीन हजार ६ सयको हाराहारीमा छ । विश्वविद्यालय सभाले स्नातक तहमा वैदिक कृषि, वास्तु इन्जिनियरिङ, योग तथा प्राकृतिक चिकित्साको पढाइ गर्न स्विकृति प्रदान गरिसकेको विश्वविद्यालयले जानकारी दिएको छ ।