रुपन्देही /२४ कार्तिक – तिलोत्तमा नगरपालिकाले मापदण्ड पूरा गरेका सामुदायिक विद्यालयमा स्टाफ नर्स राख्ने भएको छ । हालसम्म १२ वटा सामुदायिक विद्यालयले संघीय शिक्षा तथा प्रविधि मन्त्रालयको निर्देशिका अनुसार मापदण्ड पूरा गरेकाले ति विद्यालयहरुमा स्टाफ नर्स नियुक्त गरिएको तिलोत्तमा नगरपालिकाले जानकारी दिएको छ ।
विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम अन्तर्गत विद्यालयमा स्टाफ नर्स नियुक्त गरिएको हो । विद्यार्थीको नियमित स्वास्थ्य जाँचकालागि सुरु गरीएको कार्यक्रम अनुसार १२ वटा सामुदायिक विद्यालय छनौटमा परेका हुन ।
नगरपालिकाले शान्ति, पशुपति, शिवपुर, जनभावना, टिकुलिगढ, जनहित, गौतमबुद्ध, जनता, जनज्योती, शंकरनगर दुर्गादत्त, जनजागृति र बरौलिया माविलाई पहिलो चरणमा विद्यालय नसिङ्ग कार्यक्रम सञ्चालनको लागि छनौट गरेको हो ।
कार्यक्रमअनुसार नर्सहरुले विद्यालयमा स्वास्थ्य सम्बन्धी प्रवद्र्धनात्मक सेवा, पोषण सम्बन्धी सेवा, प्रतिकारात्मक सेवा, परामर्श सेवा, स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछन ।
बाँकी सामुदायिक विद्यालयमा शैक्षिक मापदण्ड पूरा गरी नर्स नियुक्त गर्ने योजना नगरपालिकाको रहेको छ । नगर भित्र ४३ वटा सामुदायिक विद्यालय रहेका छन् ।



