छात्रालाई पटकपटक बलात्कार गर्ने शिक्षक जिल्ला अदालतको आदेशमा रिहा


डोटी /२४ कार्तिक – छात्रालाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका शिक्षक सोफिनाथ भट्ट जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् ।

अदालतका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले बलात्कारको आरोप लागेका भट्टबाट रु तीन लाख धरौटी लिइ तारेखमा छाड्न आदेश दिएको थियो । शिक्षक भट्टलाई डोटीको केआइसिंह गाउँपालिका–४ की १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।

सोहि गाउँपालिकास्थित झिमेमालिका माध्यमिक विद्यालयका शिक्षक सोफिनाथ भट्टलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारेखमा छाडे पछि आफन्त आक्रोशित बनेका छन ।

तर उक्त आदेशको उच्च अदालत दिपायलमा पुनरावेदन हुने भएको छ । आरोपी छाड्ने आदेश चित्त नबुझेपछि सरकारी वकिलको कार्यालय, डोटीले उच्च अदालत दिपायलमा पुनरावेदन गरेको छ ।

शिक्षक भट्टले विद्यालयको वनभोजमा गएका बेला खिचिएको तस्बिर देखाएर ‘ब्ल्याकमेल’ गर्दै पटकपटक बलात्कार गरेको किशोरीको आरोप छ । साथै कात्तिक १ गते जिल्ला अस्पताल डोटीमा किशोरीको स्वास्थ्य परीक्षणमा गर्दा उनको पेटमा १३ साता ४ दिनको गर्व रहेको पुष्टि भएपछि शिक्षक भट्टलाई थप कानूनी कारवाहीका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ । किशोरीले काठमाडौं गएर गर्भपतन गराइसकेको बताइएको छ ।

मुलुकी फौजदारी संहिता २०७४ अनुसार यस्ता आरोपीलाई तत्काल फेला परेका प्रमाणका आधारमा कम्तीमा सातदेखि १० महिनासम्म कारागारमा राखी पूर्पक्ष गर्न सकिने व्यवस्था छ ।