काठमाडौँ/८ मंसिर – अपाङ्गता भएका विद्यार्थीको सिकाइलाई सहज, समावेशी र प्रभावकारी बनाउन साझा सिकाइ पद्धतिसहित विविधतामा आधारित मूल्याङ्कन प्रणाली अवलम्बन गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् । उनीहरूले सांकेतिक भाषालाई पठनपाठनको माध्यमका रूपमा मात्र नभई भाषाकै रूपमा मान्यता दिनुपर्नेमा समेत जोड दिएका छन् ।
पाठ्यक्रम विकास केन्द्रले सोमबार राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका सन्दर्भमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरूले अपाङ्गता भएका विद्यार्थीको सिकाइ, मूल्याङ्कन र परीक्षालाई उनीहरूको आवश्यकता तथा क्षमताअनुसार व्यवस्थित गर्नुपर्ने बताएका हुन् ।
शिक्षाविद् प्रा.डा. बासुदेव काफ्लेले समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि अपाङ्गता भएका विद्यार्थीको मूल्याङ्कन प्रणालीमा विशेष ध्यान दिनुपर्ने बताए । उनले निर्माणाधीन पाठ्यक्रम प्रारूपमा अपाङ्गता भएका विद्यार्थीको सिकाइ प्रक्रिया, मूल्याङ्कन र परीक्षासम्बन्धी स्पष्ट व्यवस्था समेटिनुपर्नेमा जोड दिए ।
शिक्षा विभागअन्तर्गत समावेशी शिक्षा शाखाका अधिकृत दीपक माझीले सबै विद्यार्थीलाई एउटै प्रश्न र एउटै उत्तर विधिबाट मूल्याङ्कन गर्दा अपाङ्गता भएका विद्यार्थीलाई समस्या हुने बताए । विद्यार्थीको सिकाइ क्षमता, सूचना ग्रहण गर्ने तरिका, सञ्चार र अभिव्यक्तिका माध्यम फरक हुने भएकाले मूल्याङ्कन प्रणाली पनि सोहीअनुसार विविधतामैत्री हुनुपर्ने उनको भनाइ थियो ।
उनले राष्ट्रिय पाठ्यक्रम प्रारूपमा प्रस्तावित व्यवस्थाबारे चर्चा गर्दै प्रत्येक विद्यार्थीको सिकाइ मूल्याङ्कन पाठ्यक्रममा निर्धारित सक्षमता र सिकाइ उपलब्धिका आधारमा गरिने प्रावधान रहेको जानकारी दिए । मानव विविधता तथा सूचना ग्रहण, सञ्चार र अभिव्यक्तिका विभिन्न माध्यमलाई सम्मान गर्दै पहुँचयोग्य मूल्याङ्कन, उपयुक्त समायोजन र आवश्यकताअनुसार वैकल्पिक विधिबाट सिकाइको विश्वसनीय प्रमाण सङ्कलन, अभिलेखीकरण तथा प्रमाणीकरण सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरिएको उनले बताए ।
अब परिमार्जन हुने पाठ्यक्रम प्रारूपमा अपाङ्गता भएका विद्यार्थीलाई सहज हुने गरी साझा सिकाइको अवधारणासँगै विविधतामा आधारित मूल्याङ्कन प्रणालीलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।
त्यस्तै, पाठ्यक्रम विकास केन्द्रका पूर्वनिर्देशक डा. बाबुराम ढुंगानाले पाठ्यक्रम जतिसुकै राम्रो बनाए पनि शिक्षकलाई आवश्यक तालिम र अभिमुखीकरण नदिएसम्म त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्ने बताए । उनले हालको पाठ्यक्रम पूर्ण रूपमा कार्यान्वयनमा नआउँदै परिमार्जन गर्न खोज्नुको औचित्यबारे प्रश्न गर्दै पाठ्यक्रम रूपान्तरण किन र केका लागि गर्न लागिएको हो भन्ने विषयमा स्पष्ट हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक महेन्द्र पराजुलीले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका सन्दर्भमा हालसम्म भएका कामको प्रगतिबारे जानकारी दिदै प्रारूप परिमार्जनका लागि हालसम्म एक लाख ५३ हजार सुझाव प्राप्त भएको र ती सुझावलाई विषय तथा उद्देश्यका आधारमा वर्गीकरण गरी अध्ययन गरिएको बताए ।
विभिन्न क्षेत्र तथा समूहसँग प्रत्यक्ष छलफल र विभिन्न माध्यमबाट सुझाव सङ्कलन गरिएको जानकारी दिँदै उनले प्राप्त सुझावलाई दस्तावेजीकरण गरिएको जानकारि दिए । प्रारूप परिमार्जनको काम अन्तिम चरणमा पुगेको र आगामी मंसिरभित्र परिष्मा पेस गर्ने तयारी रहेको जानकारी दिए ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले नयाँ पाठ्यक्रम प्रारूप समावेशी, पहुँचयोग्य र व्यवहारिक हुनुपर्नेमा जोड दिएका थिए ।



