जनकपुरधाम/६ मंसिर – प्रधानाध्यापक संघ नेपाल (पान) ले नेपालको विद्यालय शिक्षाको गुणस्तर सुधार, शैक्षिक नेतृत्व विकास तथा विद्यालय रूपान्तरणका लागि १२ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ ।
संघको आयोजनामा २०८३ मंसिर ४ देखि ६ गतेसम्म जनकपुरधाममा सम्पन्न तेस्रो राष्ट्रिय प्रधानाध्यापक शिखर सम्मेलनले ‘सँगै मिलेर उत्कृष्ट विद्यालय निर्माण गरौँ’ भन्ने मूल नारासहित उक्त प्रतिबद्धता सार्वजनिक गरेको हो ।
सम्मेलनमा देशभरबाट करिब एक हजार प्रधानाध्यापक, शिक्षाविद्, शिक्षक, विद्यालय कर्मचारी, शिक्षाकर्मी तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको जनाइएको छ ।
तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षा विज्ञ, नीति निर्माता, अभ्यासकर्ता र सरोकारवालाहरूबीच विभिन्न विषयमा छलफल, बहस तथा अनुभव आदानप्रदान गरिएको थियो । सम्मेलनमा शैक्षिक नीति, विद्यालय नेतृत्व, शिक्षक तथा कर्मचारी व्यवस्थापन, शैक्षिक गुणस्तर, राष्ट्रिय पाठ्यक्रम प्रारूप, प्रविधि, कृत्रिम बौद्धिकता, विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनलगायतका विषयमा छलफल भएको थियो ।
संघले सार्वजनिक गरेको प्रतिबद्धतामा शिक्षा नीति तथा कानुनी सुधार, प्रधानाध्यापक नेतृत्व विकास, शिक्षक तथा विद्यालय सरोकारवालाको मनोबल अभिवृद्धि, निरन्तर व्यावसायिक विकास, प्रविधिमैत्री तथा एआई–सक्षम विद्यालय निर्माणलाई प्राथमिकता दिइएको छ ।
त्यसैगरी विपद् जोखिम न्यूनीकरण तथा सुरक्षित विद्यालय, हरित विद्यालय तथा जलवायु परिवर्तनसम्बन्धी कार्य, असल अभ्यास आदानप्रदान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय र सहकार्यलाई पनि प्रतिबद्धतामा समेटिएको छ ।
विद्यार्थी, अभिभावक तथा समुदायको सहभागिता सुनिश्चित गर्ने, गुणस्तरीय तथा नवप्रवर्तनशील सिकाइ प्रवद्र्धन गर्ने र संस्थागत सुदृढीकरण तथा जवाफदेहिता कायम गर्ने विषयलाई समेत संघले प्राथमिकतामा राखेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
सम्मेलनले विद्यालय रूपान्तरण कुनै एक व्यक्ति, संस्था वा सरकारको प्रयासबाट मात्र सम्भव नहुने निष्कर्ष निकाल्दै प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय, सरकार तथा विकास साझेदारहरूको साझा प्रयास आवश्यक रहेको औँल्याएको छ ।
प्रतिबद्धता कार्यान्वयनका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर नीतिगत संवाद, समन्वय र सहकार्य गर्ने, विद्यालय नेतृत्वको क्षमता विकास गर्ने, शैक्षिक सम्मेलन तथा तालिम सञ्चालन गर्ने र प्रतिबद्धताको कार्यान्वयन प्रगतिको नियमित समीक्षा तथा सार्वजनिक प्रतिवेदन गर्ने उल्लेख गरिएको छ ।
संघका महासचिव लक्ष्मण श्रेष्ठ र अध्यक्ष सुदाम प्रसाद गौतमद्वारा हस्ताक्षरित प्रतिबद्धता–पत्रमा सक्षम प्रधानाध्यापक, सम्मानित शिक्षक तथा कर्मचारी, प्रेरित विद्यार्थी, सक्रिय अभिभावक र रूपान्तरित विद्यालय निर्माण गर्ने साझा दृष्टिकोण प्रस्तुत गरिएको छ ।
‘सहकार्यबाट रूपान्तरण, नेतृत्वबाट नवप्रवर्तन र शिक्षाबाट समृद्धि’ भन्ने मूल मन्त्रसहित संघले नेपालको विद्यालय शिक्षालाई सुरक्षित, हरित, डिजिटल, एआई–सक्षम, समावेशी र विपद् उत्थानशील बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
हेर्नुहोस प्रतिबद्धता पत्र








