विश्वविद्यालयमा अध्यापन गर्न राष्ट्रिय योग्यता परीक्षणको व्यवस्था

काठमाडौं /३० कार्तिक – विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थामा अध्यापन गर्न चाहने जनशक्तिको योग्यता परीक्षण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित तयार पारेको ‘राष्ट्रिय योग्यता परीक्षण सञ्चालन नियमावली, २०८२’ कार्यान्वयनका लागि सम्बन्धित विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाहरूलाई आवश्यक कानुनी व्यवस्था परिमार्जन गर्न अनुरोध गरेको छ ।


आयोगका अनुसार विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाअन्तर्गत शिक्षण पेसामा आबद्ध रहेका (स्थायी दरबन्दीमा नियुक्त भएका बाहेक) तथा शिक्षण पेसामा प्रवेश गर्न चाहने जनशक्तिको योग्यता परीक्षण गर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।


नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भई लागू हुने प्रक्रियामा रहेको उक्त नियमावलीले उच्च शिक्षामा अध्यापन गर्ने जनशक्तिको योग्यता र क्षमता परीक्षणलाई संस्थागत गर्ने लक्ष्य राखेको छ ।


नियमावलीको नियम १७ मा कार्यरत शिक्षकसम्बन्धी व्यवस्था, नियम १८ मा योग्यता परीक्षणलाई नियुक्तिको आधार बनाउने व्यवस्था र नियम २० मा विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाको कर्तव्यसम्बन्धी प्रावधान समेटिएका छन् ।


उक्त व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न आयोगले सम्बन्धित विश्वविद्यालयहरूलाई पत्राचार गर्दै आफ्ना ऐन, नियम तथा विनियममा आवश्यक संशोधन गर्न अनुरोध गरेको छ ।


आयोगले पत्र प्राप्त नभएका विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाहरूलाई समेत राष्ट्रिय योग्यता परीक्षण सञ्चालन नियमावली, २०८२ अनुसार आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।


नियमावली विश्वविद्यालय अनुदान आयोगको आधिकारिक वेबसाइट www.ugcnepal.edu.np बाट डाउनलोड गर्न सकिने आयोगले जनाएको छ ।